धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित डिलाशैनी सामुदायिक वन क्षेत्रमा निर्माणाधीन इको पार्कको काम अन्तिम चरणमा पुगेको छ। प्राकृतिक वातावरणको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको पार्कले धनगढी र कञ्चनपुर क्षेत्रको नयाँ पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउने अपेक्षा गरिएको छ।
उद्योग, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको प्रदेश पर्यटन विकास कार्यक्रममार्फत पार्क निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। सो बजेटबाट वन क्षेत्रभित्र करिब एक हजार ५० वर्गमिटर क्षेत्रमा पदमार्ग निर्माण भइरहेको छ। ब्लक बिछ्याउने अधिकांश काम सम्पन्न भइसकेको र बाँकी काम पनि चाँडै सकिने निर्माण समितिले जनाएको छ।
धनगढीलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकासँग जोड्ने डिलाशैनी सामुदायिक वन हरियाली, जैविक विविधता र प्राकृतिक सौन्दर्यका कारण परिचित क्षेत्र हो। यही विशेषतालाई संरक्षण गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यले इको पार्क निर्माणलाई प्राथमिकता दिइएको हो।
पार्कभित्र करिब १५० मिटर लामो पदमार्ग व्यवस्थित बनाइँदै छ भने सुरक्षा र सौन्दर्यका लागि करिब ५०० मिटर क्षेत्रमा तारजालीसहित घेराबार गर्ने तयारी गरिएको छ। यसले चौपायाको प्रवेश नियन्त्रण हुनुका साथै पार्कको संरक्षणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
श्री डिलाशैनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक ढुंगालका अनुसार पार्कलाई थप आकर्षक बनाउन विभिन्न प्रजातिका बिरुवा रोप्ने, विश्रामस्थल निर्माण गर्ने तथा वातावरणमैत्री संरचना थप गर्ने योजना रहेको छ। आगामी वर्ष पार्क विस्तार र थप पूर्वाधार निर्माणका लागि अतिरिक्त बजेटको पहल गरिने उनले बताए।
स्थानीय बासिन्दाले पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छन्। पर्यटकको संख्या बढेसँगै होटल, रेष्टुरेन्ट, चिया–नास्ता पसल, स्थानीय उत्पादनको बिक्रीलगायत साना व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास उनीहरूको छ।
स्थानीयका अनुसार पार्कले मनोरञ्जनका साथै बिहान–साँझ हिँड्ने, दौडिने र व्यायाम गर्ने सुरक्षित सार्वजनिक स्थलको आवश्यकता पनि पूरा गर्नेछ। यसले वातावरण संरक्षणप्रति नागरिकको सहभागिता बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
निर्माण समितिले चालु आर्थिक वर्षभित्र सबै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। पार्क पूर्ण रूपमा सञ्चालनमा आएपछि डिलाशैनी क्षेत्र धनगढीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्