गृहमन्त्री सुधन गुरुङले ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी युवतीलाई गोप्य अंग प्रदर्शन गर्ने पुरुषलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
गोप्य अंग प्रदर्शन गरेको आरोपमा बैतडीको पाटन नगरपालिका घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-२ बस्ने ५५ वर्षीय सुरेन्द्र भट्टलाई प्रहरी वृत्त सातदोबाटोले सोमबार पक्राउ गरिसकेको छ। उनी रक्षा मन्त्रालयका शिक्षा अधिकृत हुन्।
‘यस्ता घटनाको म घोर भर्त्सना गर्दछु र दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याई कानुनबमोजिम कारबाही गर्ने विषयमा दृढतापूर्वक उभिनेछु’, गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको जिम्मेवारी हो। म सबै यौन हिंसाको पीडितहरूलाई ढुक्क भएर आवाज उठाउन आग्रह गर्दछु। अन्याय सहेर बस्नु पर्दैन।’
साथै गृहमन्त्री गुरुङले आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिको भिडिओ सार्वजनिक गरेकामा ऋतु खनालको साहसप्रति सम्मान पनि प्रकट गरेका छन्।
उनले भनेका छन्, ‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडिओ सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैँमा चिन्ताको विषय हो।’
त्यस्ता घटना भएमा नजिकका प्रहरी कार्यालयमा उजुरी गर्न पनि गृहमन्त्री गुरुङले पीडितलाई आग्रह गरेका छन्।
‘यदि कुनै कारणले उजुरी दर्ता गर्न असहजता वा समस्या सिर्जना गरिन्छ भने सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई समेत जानकारी गराउन सक्नुहुन्छ। यस्ता घटना उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति पनि स्वीकार्य हुने छैन’, उनले लेखेका छन्।
प्रहरीका अनुसार इमाडोलस्थित सार्वजनिक सडकमा हिँडिरहेका बेला ऋतु खनाललाई भट्टले आफ्नो गोप्य अंग देखाएका थिए।
खनालले घटनाको भिडिओ गत आइतबार बेलुका टिकटक, इन्स्टाग्राम र फेसबुकमा अपलोड गरेपछि भाइरल भएको थियो। भिडिओमा खनालले कराउँदै ती पुरुषलाई लघारेको देखिन्छ। साथै उनले समातेर माफी माग्न लगाएको दृश्य भिडिओमा छ।




प्रतिक्रिया दिनुहोस्