काठमाडौँ — रास्वपा सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् ।
सांसद प्रसाईंले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य पन्छिन नपाउने बताए । कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै उनले आपत्ति प्रकट गरे ।
‘कुनै पनि घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडाबोध हुने र अरूको घरमा घट्दा त्यो केवल समाचार मात्र बन्ने गरेको छ । दुर्भाग्यवश समाज यति असंवेदनशील भएको छ कि कर्णालीका दुर्घटनाहरू हाम्रा लागि नियमित समाचार मात्र बन्न थालेका छन्,’ उनले भने ।
कर्णाली राजमार्गलाई सुरक्षित बनाउन र भविष्यमा यस्ता हृदयविदारक दुर्घटनाहरू दोहोरिन नदिन सरकारसँग के–कस्ता दीर्घकालीन योजनाहरू छन् भन्ने उनको प्रश्न थियो । नागरिकको जीवनसँग जोडिएको यस गम्भीर विषयमा सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्नेमा जोड दिँदै सांसद प्रसाईंले गृहमन्त्रीलाई रोष्टममा उभिएर जवाफ दिनका लागि सभामुखमार्फत तत्काल रुलिङको मागसमेत गरे ।




प्रतिक्रिया दिनुहोस्