निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ धम्की दिएर विवादमा परेका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अर्को एउटा अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
मन्त्री लम्साल आइतबार तनहुँ गएका थिए। त्यस क्रममा शुक्लागण्डकी नगरपालिकामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट क्रममा मन्त्री लम्सालले दिएको अभिव्यक्ति चर्चामा रहेको हो।
उनले जनताको काम नगर्ने मेयर तथा प्रदेश मन्त्रीहरूलाई कारबाही दायरामा ल्याउने बताएका थिए।
‘कुनै मेयरले काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो, सेवामा लापरबाही गर्नुभयो भने त्यो केसमा पनि हामीलाई जानकारी गराउनुहोला। मेयरलाई पनि कारबाही गर्छौं हामी, प्रदेशका मन्त्रीले त्यो भन्नुभयो भने प्रदेशका मन्त्रीलाई नै थुन्छौं हामी, चिन्तै लिनुपर्दैन,’ पूर्वाधार विकास मन्त्री लम्सालले भने, ‘काम गर्नुपर्यो, काम गराउनुपर्यो।’
मन्त्री लम्सालले यसअघि धादिङमा सडक आयोजना अनुगमन क्रममा बिजुलीका पोल समयमै नहटाएका निर्माण व्यवसायीलाई खुट्टा भाँच्न निर्देशन दिएपछि उनको आलोचना भएको थियो।
मन्त्री लम्सालले पटक पटक थुन्ने लगायतका अभिव्यक्ति दिने गरेका छन्।
हालै प्रधानमन्त्री बालेन शाहले आफ्नो फेसबुकबाट देश बनाउने टिम सार्वजनिक गर्दा मन्त्री लम्सालको फोटो पनि राखेका थिए।




प्रतिक्रिया दिनुहोस्