धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य सेवालाई गाउँ–गाउँ र घर–घरमा पुर्याउने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार विस्तार र प्रविधिमैत्री सेवा प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ।
धनगढीमा शनिबार आयोजित ‘अन्तिम चरणसम्म स्वास्थ्य सेवा पुर्याउने’ विषयक प्रदेशस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएकाले यसको पहुँच विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताए। उनले प्रदेश सरकारले आधारभूत अस्पतालहरूको स्तरोन्नतिसँगै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारको कामलाई अघि बढाइरहेको जानकारी दिए।
मुख्यमन्त्री शाहका अनुसार आफू नेतृत्वमा आएपछि पाँच आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको थियो। तीमध्ये दुई अस्पतालले आवश्यक मापदण्ड पूरा गरी प्रादेशिक अस्पतालको मान्यता पाइसकेका छन् भने बाँकी तीन अस्पताललाई पनि स्तरोन्नतिका लागि आवश्यक तयारी भइरहेको उनले बताए।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने योजना अघि बढाइएको उनले उल्लेख गरे। साथै, जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यासम्म स्तरोन्नति गर्ने र प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा विस्तारको प्रक्रिया सुरु गरिएको जानकारी दिए।
उनले बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गरिने उल्लेख गर्दै टेलिमेडिसिन, विद्युतीय स्वास्थ्य अभिलेख तथा डिजिटल स्वास्थ्य सेवामार्फत सेवाको गुणस्तर र पहुँच सुधार गरिने बताए। स्रोत–साधनको सीमितताका कारण केही योजना अपेक्षाअनुसार अघि बढ्न नसके पनि स्वास्थ्य क्षेत्र सुधारमा प्रदेश सरकार निरन्तर प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा कार्यान्वयन भइरहेका डिजिटल स्वास्थ्य प्रणालीबारे जानकारी गराउँदै २० स्थानीय तहमा स्मार्ट स्वास्थ्य सामग्री प्रयोग भइरहेको बताए। उनका अनुसार अछामका पालिकामा समुदायमा आधारित स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ भने प्रादेशिक र जिल्ला अस्पतालहरूमा विद्युतीय स्वास्थ्य अभिलेख, मोबाइल स्वास्थ्य सेवा तथा स्वास्थ्य विवरण विश्लेषण प्रणाली कार्यान्वयनमा रहेका छन्।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति’ नाराअन्तर्गत टेलिफोन तथा अनलाइन स्वास्थ्य परामर्श, विद्युतीय चिकित्सकीय अभिलेख, एकीकृत स्वास्थ्य विवरण प्रणाली, विद्युतीय परिवार स्वास्थ्य परिचयपत्र, टेलिमेडिसिन तथा रोग वर्गीकरण कोड प्रणालीलाई थप सुदृढ बनाउने योजना समावेश गरिएको पनि कार्यक्रममा जानकारी दिइयो।
बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकासहित स्मार्ट स्वास्थ्यसम्बन्धी संस्थाको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा डिजिटल माध्यमबाट दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उपायबारे छलफल गरिएको थियो। कार्यक्रममा स्वास्थ्य चुनौती केवल रोगसँग मात्र नभई भौगोलिक दूरी, यातायात, समय र सेवाको पहुँचसँग पनि जोडिएको विषय भएकोमा जोड दिइएको थियो।
बडिमालिका नगरपालिका, बाजुराका नगरप्रमुख अमर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामी तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो।




प्रतिक्रिया दिनुहोस्