कञ्चनपुर — भारतसँग खुला सीमा जोडिएको कञ्चनपुरमा लागुऔषधको अवैध कारोबार र प्रयोग नियन्त्रण गर्न सुरक्षा निकायलाई चुनौती थपिँदै गएको छ। पछिल्लो अढाई महिनामै लागुऔषधसम्बन्धी मुद्दामा १२५ जनाभन्दा बढी पक्राउ परेपछि समस्या अझ गम्भीर बन्दै गएको देखिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत वैशाखदेखि हालसम्म लागुऔषधसम्बन्धी ६७ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न रहेको आरोपमा तीन महिला र १२२ पुरुष गरी १२५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
प्रहरीका अनुसार भारतसँगको खुला सीमाका कारण विभिन्न प्रकारका लागुऔषध नेपाल भित्र्याउने प्रयास निरन्तर भइरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र लागुऔषध नियन्त्रण ब्युरोले संयुक्त रूपमा अवैध कारोबारमा संलग्न व्यक्ति तथा प्रयोगकर्तामाथि निगरानी बढाउँदै कानुनी कारबाहीलाई तीव्र बनाएका छन्।
कारबाहीका क्रममा प्रहरीले अढाई महिनाको अवधिमा २१५ ग्राम ६२१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ। त्यसका साथै चरेस, ट्रामाडोल, फेनारगन तथा अन्य लागुऔषधजन्य पदार्थसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्ला केही वर्षयता कञ्चनपुरमा विशेषगरी खैरो हिरोइनको अवैध कारोबार उल्लेखनीय रूपमा बढेको छ। यसको प्रभाव कारागारसम्म देखिएको छ, जहाँ रहेका कैदीबन्दीमध्ये ३५ प्रतिशतभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका रहेको प्रहरीको तथ्यांक छ।
प्रवक्ता रावतका अनुसार जिल्लाभरका प्रहरी युनिटलाई लागुऔषध नियन्त्रण अभियानमा सक्रिय बनाइएको छ। पक्राउ र अनुसन्धानसँगै विद्यालय, समुदाय तथा विभिन्न सार्वजनिक स्थानमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
उनले लागुऔषध नियन्त्रण केवल प्रहरीको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै अभिभावक, स्थानीय तह, शैक्षिक संस्था र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। वडा र टोलस्तरसम्म सचेतना अभियान विस्तार गरी सामूहिक रूपमा लागुऔषधविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाउँदै अवैध लागुऔषध ओसारपसार रोक्न अभियान जारी राखेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्