धनगढीमा बालकको हत्या, सुन लुटिएको आशंका, ४ जना पक्राउ

धनगढी — धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या सुनको मुन्द्रा लुट्ने उद्देश्यले गरिएको हुन सक्ने प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने एक जना फरार रहेका छन्।

प्रहरीका अनुसार बुधबार दिउँसो साइकल लिएर घरबाट निस्किएका तनुज बाटोमा भेटिएका आफ्ना समवयस्क साथीसँग गौरीगंगा नगरपालिका–६ मोया पुगेका थिए। त्यहाँ उनीहरू साथीका बुवा दिलखुस चौधरी रोपाइँ गरिरहेको खेतमा पुगेका थिए। त्यसपछि दुवै बालक नजिकैको खोलामा गंगटा समात्न गएका थिए।

उनीहरूले समातेका गंगटा खेतमा रहेका दिलखुस चौधरी, विष्णु चौधरी, स्थानीय टेक कठायत र उनका छोरा खगेन्द्र कठायतले पोलेर खाएको तथा सो क्रममा घरेलु मदिरा सेवनसमेत गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पछि पानी पिएर छुट्टिएका दुवै बालकमध्ये तनुज साँझ घर फर्किने भन्दै एक्लै साइकलमा निस्किएका थिए। तर उनी घर नपुगेपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी थालेको थियो।

खोजीका क्रममा शुक्रबार धनगढी–गौरीगंगा सीमास्थित कालिका सामुदायिक वनभित्र तनुजको शव फेला परेको थियो। शव नजिकै उनको साइकल, चप्पल, प्लास्टिकको झिल्ली र गंगटाका अवशेष भेटिएका थिए। घटनास्थलमा रगतले लतपतिएका ढुंगा तथा रगतका चिन्ह फेला परेकाले हत्या त्यहीँ गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

अनुसन्धानका क्रममा तनुजले लगाएको सुनको मुन्द्रा घटनास्थलमा नभेटिएकाले लुटपाटपछि हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। मृतककी मामली बज्यै अनितादेवी चौधरीले पनि तनुजले एक आना जतिको सुनको मुन्द्रा लगाउने गरेको बताउँदै त्यसकै लोभमा हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेकी छन्।

घटनामा संलग्न रहेको आशंकामा तनुजसँग अन्तिम पटक देखिएका नाबालक साथी, उनका बुवा दिलखुस चौधरी, विष्णु चौधरी र स्थानीय टेक कठायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाका बेला उपस्थित रहेका खगेन्द्र कठायत भने फरार रहेका छन् र उनको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट संकलित प्रमाण, पक्राउ परेकाहरूको बयान तथा अन्य तथ्यका आधारमा अनुसन्धान जारी छ। यद्यपि, अनुसन्धान नसकिएकाले घटनाबारे अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार