धनगढी — सुदूरपश्चिम प्रदेशमा सोमवारदेखि लगातार तीन दिनसम्म मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुरसहित प्रदेशका तराई र पहाडी क्षेत्रमा बुधवारसम्म मनसुनी वर्षा हुने अवस्था बनेको हो।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन हाल लुम्बिनी प्रदेशको बर्दघाट आसपास पुगेको छ र आगामी तीन दिनभित्र सुदूरपश्चिममा प्रवेश गर्ने सम्भावना रहेको छ। मनसुनी प्रणाली सक्रिय भएसँगै सोमवार बिहानदेखि प्रदेशभर मध्यम खालको वर्षा हुने अनुमान गरिएको उनले बताए।
लामो समयदेखि वर्षा नहुँदा कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ। यी जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी पुगेको छ, जसका कारण दैनिक जनजीवन कष्टकर बनेको छ।
वर्षाको अभावले खेतबारी सुक्न थालेपछि धान रोपाइँसमेत प्रभावित भएको छ। मौसमविद्हरूले आगामी वर्षाले गर्मी कम हुनुका साथै खेतीपातीमा समेत केही राहत पुग्ने अपेक्षा गरेका छन्।




प्रतिक्रिया दिनुहोस्