धनगढी — लामो समयदेखि वर्षा नहुँदा धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा खानेपानीको अभाव चुलिएको छ। नल र धारामा पानी सुक्न थालेपछि स्थानीय बासिन्दा दैनिक प्रयोगका लागि आवश्यक पानी जुटाउन कठिनाइ भोगिरहेका छन्।
बढ्दो पानी संकटलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले उपलब्ध स्रोत–साधन परिचालन गरेर प्रभावित क्षेत्रमा पानी वितरण थालेको जनाएको छ। खानेपानी ढुवानीका लागि छुट्टै ट्याङ्कर नभएपछि पुरानो दमकल, रोड वासर तथा बोटबिरुवामा पानी हाल्ने ट्याङ्की प्रयोग गरेर पानी आपूर्ति गरिएको हो। उक्त पानी मुख्यतः खानेपानीबाहेकका दैनिक आवश्यक कामका लागि वितरण गरिएको जनाइएको छ।
वडा नम्बर ६ को जाली क्षेत्रमा वडा अध्यक्ष भागीराम चौधरीसँगको समन्वयमा देउबा पसल नजिकको चोकमा पानी उपलब्ध गराइएको छ। त्यसैगरी वडा नम्बर १४ अन्तर्गत फुलबारी–स्याउले बजार क्षेत्रमा पानीको अभाव भएपछि स्याउले बजार चोकमा पनि पानी वितरण गरिएको छ।
यस्तै, वडा नम्बर ७ र १२ को शिविर क्षेत्र आसपास पानीको समस्या बढेपछि वडा अध्यक्ष मोति राना र शेरबहादुर महरासँग समन्वय गरी सिमल टोलमा समेत पानी पुर्याइएको उपमहानगरपालिकाले जनाएको छ।
हाललाई वडा नम्बर ६, ७, १२ र १४ मा पानी वितरण गरेर स्थानीयलाई राहत दिने प्रयास गरिएको उपमहानगरपालिकाको भनाइ छ। वर्षा नभएसम्म आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पानी वितरणलाई निरन्तरता दिइने तयारी पनि गरिएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्