काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाका नदी किनाराका बस्तीबाट विस्थापित सुकुमवासी परिवारलाई होल्डिङ सेन्टर खाली गर्न सात दिनको समय थप गरेको छ । यसअघि असार १२ गतेसम्म होल्डिङ सेन्टर खाली गर्नुपर्ने सुझाव सूचना जारी गरेको थियो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अर्को सूचना जारी गर्दै आगामी असार १९ सम्म समय थप गरेको जनाएको छ । समितिका अनुसार घर भाडा प्राप्त गर्ने समय अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि उक्त निर्णयमा लचकता अपनाइएको छ ।
सूचनामा विस्थापित परिवारहरूलाई रकम प्राप्तिका लागि असार १५ गतेभित्र निवेदन दिन आह्वान समेत गरेको छ ।
गत वैशाख १२, १३, १९ र २० गते उपत्यकाभित्रका नदी किनाराका सुकुमवासी बस्तीहरू सरकारले डोजरमार्फत् खाली गराएको थियो । सरकारले पुनः व्यवस्थापनका लागि दिने भनिएको रकम प्राप्तिका लागि पीडितहरूले आफ्नो नामको बैंक खाता नम्बरसहित तोकिएको ढाँचाको आवेदन १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई बुझाउनुपर्ने जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्