धनगढी — कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भीरबाट टेम्पो फालिएको घटनासम्बन्धी विवाद अन्ततः समाधान भएको छ। घटनामा संलग्न वन कर्मचारीहरूले पीडित धनादेवी धामीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएपछि दुवै पक्षबीच सहमति भएको हो।
धामीले क्षतिपूर्ति प्राप्त गरेसँगै घटनाका कारण पक्राउ परेका सव–डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ७ हजार रुपैयाँ धरौटीमा छाडेको जनाएको छ।
टेम्पो नष्ट भएको क्षतिपूर्ति मात्रै नभई अतिक्रमण हटाउने क्रममा भत्काइएको घर पुनर्निर्माणको माग गर्दै धामीले प्रशासन र प्रहरीसमक्ष निरन्तर पहल गर्दै आएकी थिइन्। क्षतिपूर्तिको विषयमा सहमति भएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा दर्ता भएको विवाद पनि औपचारिक रूपमा अन्त्य भएको छ।
अनुसन्धानका क्रममा भीरबाट फालिएको सुपप्र ०१–००१ ह ३१८० नम्बरको टेम्पो कानुनी रूपमा गरिमा विकास बैंककै नाममा रहेको खुल्यो। उक्त सवारी गोदावरीका कृष्णबहादुर थापाले बैंकबाट ऋण लिएर खरिद गरेका थिए। ऋण चुक्ता भए पनि नामसारी प्रक्रिया पूरा नभएकाले स्वामित्व बैंककै नाममा कायम रहेको पाइएको छ।
धामीले भने आफूले उक्त टेम्पो स्थानीय व्यक्तिबाट खरिद गरेको बताएकी छन्।
घटनापछि डिभिजन वन कार्यालय धनगढीले सञ्चालन गरेको अतिक्रमण हटाउने अभियानको कार्यशैलीमाथि व्यापक प्रश्न उठेको थियो। टेम्पो भीरबाट फालिएको भिडियो सार्वजनिक भएपछि वन कार्यालयको अभियान विवादमा तानिएको थियो।




प्रतिक्रिया दिनुहोस्