सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी करिब २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। उनलाई मंगलबार राति उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको भिडियो चैत महिनामा रमेशको घर नजिकै रहेको बाँसघारी क्षेत्रमा खिचिएको थियो। भिडियोमा एक २१ वर्षीया युवतीमाथि गालीगलौज गर्दै चक्कु देखाइएको तथा कुटपिट गरिएको देखिन्छ। युवती रुँदै ‘अब गर्दिनँ’ भन्दै अनुरोध गरिरहेको दृश्यसमेत भिडियोमा कैद भएको छ।
भिडियो सार्वजनिक भई व्यापक रूपमा फैलिन थालेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा आरोपीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण, पीडित र आरोपीबीचको सम्बन्ध तथा कुटपिटको पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्