धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसको सम्पूर्ण नतिजा बदर गरेको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रअनुसार जिल्ला अधिवेशन पार्टीको विधान र निर्वाचन कार्यविधिविपरीत भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको हो।
आयोगका अनुसार मतदान र मतगणनामा आधारभूत प्रक्रिया पालना नभएको, स्थापित नियमहरूको उल्लंघन भएको तथा प्रमुख उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको पाइएको छ। साथै, योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नगरिएको समेत देखिएको उल्लेख छ।
यसअघि विवादबीच सम्पन्न निर्वाचनमा कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए। अन्य प्रतिस्पर्धीमध्ये महेश कुमार चौधरीले ३७ मत र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।
तर निर्वाचनअघि नै उम्मेदवारहरू चौधरी र रेग्मीले निर्वाचन समिति अवैधानिक भएको तथा मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै प्रक्रिया बहिष्कार गरेका थिए। उनीहरूले निर्वाचन रोक्न माग गर्दै उजुरीसमेत दर्ता गरेका थिए।
उक्त उजुरी र प्रमाणहरूको अध्ययनपछि केन्द्रीय निर्वाचन आयोगले सम्पूर्ण प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर गरेको हो।
आयोगले कैलालीमा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन गरिने तथा छिट्टै नयाँ कार्यतालिका सार्वजनिक गरिने जनाएको छ। यससँगै जिल्ला समितिको नेतृत्व चयनका लागि पुनः निर्वाचन हुने भएको छ।





प्रतिक्रिया दिनुहोस्