धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन नजिकिँदै गर्दा युवा नेता झनक खनालले प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी असार १ गते धनगढीको रिद्धि सिद्धि प्यालेसमा हुने अधिवेशनमार्फत आफूलाई प्रदेशको नीति निर्माण र संगठन विस्तारको जिम्मेवारीमा उभ्याउने उनको तयारी छ।
पार्टीको सांगठनिक जग बलियो बनाउन विगत तीन वर्षदेखि निरन्तर सक्रिय खनालको राजनीतिक यात्रा ‘तल्लो तह’ बाटै सुरु भएको हो। उनले सुरुमा पार्टीको साधारण सदस्यका रूपमा संगठनात्मक काम थालेका थिए। त्यसपछि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सदस्यका रूपमा काम गर्ने अवसर पाएका खनालले केही महिनामै क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेर कुशलतापूर्वक नेतृत्व प्रदर्शन गरेका थिए। हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सदस्यका रूपमा क्रियाशील छन्।
अधिवेशनमार्फत प्रदेश सदस्य पदमा चुनावी मैदानमा होमिएका खनालले सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। ‘समृद्ध सुदूरपश्चिम निर्माण’ र ‘युवा नेतृत्वमार्फत सकारात्मक परिवर्तन’ को संकल्प बोकेका उनले अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूसँग घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन्। आफ्नो विगतको कार्यअनुभव र संगठनात्मक दक्षताले प्रदेश कमिटीलाई थप गतिशील बनाउन मद्दत पुग्ने खनालको विश्वास छ।




प्रतिक्रिया दिनुहोस्