धनगढी — कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा शुक्रबार बिहान आएको आकस्मिक बाढीमा बगेर दुई महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँद रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार धमलाको शव आर्यघाट नजिक तथा साउँदको शव वनदेवी मन्दिर आसपासको क्षेत्रमा फेला परेको हो।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजे गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा अचानक आएको बाढीले दुई महिलालाई बगाएको सूचना दिएका थिए। त्यसलगत्तै अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको थियो।
प्रारम्भिक अनुसन्धानबाट दुवै महिला बिहान करिब ६ बजेतिर जंगलमा च्याउ संकलन गर्न घरबाट निस्किएको खुलेको छ। सोही क्रममा नदीमा आएको बाढीको चपेटामा परेर उनीहरू बगेको प्रहरीको अनुमान छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्