बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा नक्कली सरकारी कार्यालय नै स्थापना गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–३, बगनाहा बजारस्थित एक घरमा फर्जी कार्यालय खोली ठगी धन्दा चलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आरोपितहरूले सो घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नामक नक्कली बोर्ड राखेर कार्यालय सञ्चालन गरेका थिए ।
उक्त नक्कली कार्यालयमार्फत सर्वसाधारणलाई विभिन्न सरकारी पदमा जागिर लगाइदिने प्रलोभन देखाइएको अनुसन्धानबाट खुलेको छ । आरोपितहरूले स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा फर्जी नियुक्ति पत्र दिएर विभिन्न कामकाज तथा मजदुरीमा लगाएका थिए । तर, काम गराएबापत कसैलाई पनि ज्याला भुक्तानी नगरिएको प्रहरीले जनाएको छ ।
ठगीको शृङ्खला यतिमा मात्र सीमित थिएन । कार्यालय सञ्चालन गरिएको घरका धनीलाई समेत प्रभावमा पारेर उनीहरूले घरको तला थप्न लगाएका थिए । भवन निर्माण कार्य गराए पनि उनीहरूले घरधनीलाई बुझाउनुपर्ने निर्माण रकम र भाडा भुक्तानी नगरेको पाइएको छ ।
घरधनीले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा लिखित जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपितहरूले आफैँ सरकारी कागजात, छाप र हस्ताक्षर तयार गरी किर्ते नियुक्तिपत्रहरू जारी गर्ने गरेको प्रमाण फेला परेको छ ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले जेठ २० गते दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका–३ निवासी, २४ वर्षका घनश्याम न्यौपाने र दाङको लमही नगरपालिका–५ निवासी, २३ वर्षकी कृपा चौधरी (श्रीमती) छन् ।
पक्राउ परेका दम्पतीमाथि अहिले ठगी तथा लिखत सम्बन्धी कसुर (कीर्ते) अन्तर्गत कानुनी कारबाहीका लागि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनाको गहिराइसम्म पुग्न प्रहरीले अन्य प्रमाण र पीडितहरूको खोजी गरिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्