काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक र भूराजनीतिक बहसभन्दा माथि उठाएर विकास, व्यापार, लगानी र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
भारतीय दैनिक Hindustan Times मा प्रकाशित लेखमार्फत लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने समय आएको उल्लेख गर्दै दुवै देशले विगतका विवादभन्दा भविष्यका सम्भावनामा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् । पाँचदिने भ्रमणका लागि लामिछाने सोमबार दिल्ली प्रस्थान गरेका थिए । दिल्ली प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेले पत्रकारसँग प्रतिक्रिया दिन अस्वीकार गरे पनि भारतीय सञ्चार माध्यममार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
लामिछानेको दिल्ली भ्रमणअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसद्मा दिएको अभिव्यक्तिको नेपालमा तीव्र आलोचना भइरहेको छ । बालेनले नेपालले पनि भारतीय जग्गा धेरै ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो विवादास्पद अभिव्यक्तिपछि सीमाविद्, इतिहासविद्, कूटनीतिज्ञ तथा विपक्षी राजनीतिक दलहरूले तीव्र आलोचना गरेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मै माफी माग्नुपर्ने र भनाइ फिर्ता लिनुपर्ने माग गरेका छन् । कूटनीतिज्ञहरूले भने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल-भारत सीमा विवाद झन् गिजोलेको र वार्तामा बस्दा नेपालको कमजोर अवस्था रहने टिप्पणी गरेका छन् ।
भारतमा रहेका लामिछानेले लेखमार्फत नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनलाई लोकतान्त्रिक “मतपेटिका क्रान्ति” को संज्ञा दिँदै रास्वपाको उदयले देशमा नयाँ राजनीतिक युगको सुरुवात गरेको दाबी गरेका छन् । उनले रास्वपासँग विगतका राजनीतिक बोझ र पूर्वाग्रह नभएकाले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन सकिने बताएका छन् ।
लेखमा उनले नेपाल र भारतलाई केवल दुई सार्वभौम राष्ट्रका रूपमा नभई साझा सभ्यता, संस्कृति र धार्मिक सम्पदाका साझेदारका रूपमा चित्रण गरेका छन् । जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगया जस्ता धार्मिक तथा सांस्कृतिक केन्द्रहरूलाई जोड्दै उनले दुई देशबीचको सम्बन्ध हजारौं वर्ष पुरानो रहेको उल्लेख गरेका छन् ।
यद्यपि, भावनात्मक र सांस्कृतिक सम्बन्ध मात्र पर्याप्त नभएको भन्दै उनले आर्थिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । भारतले पछिल्ला वर्षहरूमा हासिल गरेको आर्थिक विकास र पूर्वाधार विस्तारबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै उनले रक्सौल–काठमाडौं रेलमार्ग परियोजनालाई शीघ्र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले पोखरा र लुम्बिनीबाट भारतका प्रमुख शहरहरू दिल्ली, मुम्बई र बेंगलुरुसम्म प्रत्यक्ष हवाई उडान विस्तार गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् । सूचना प्रविधि, स्टार्टअप, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनका क्षेत्रमा नेपाल–भारत सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले “काठमाडौं–बेंगलुरु डिजिटल करिडोर” को अवधारणा प्रस्तुत गरेका छन् ।
लामिछानेले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थान आईआईटी र एम्स जस्ता संस्थाहरू नेपालमा विस्तार गर्न सकिने सम्भावनाबारे पनि चर्चा गरेका छन् । भारतीय सूचना प्रविधि कम्पनी, विश्वविद्यालय र स्टार्टअप इकोसिस्टमलाई नेपालमा नवप्रवर्तन केन्द्र, इन्क्युबेसन सेन्टर र प्रविधि हब स्थापना गर्न आह्वान गरेका छन् ।
ऊर्जा क्षेत्रमा नेपालको जलविद्युत् क्षमता भारतको बढ्दो ऊर्जा आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिँदै उनले दुई देशबीच एकीकृत ऊर्जा बजार निर्माणको आवश्यकता औंल्याएका छन् । सीमा नाकाहरूलाई आधुनिक र डिजिटाइज्ड बनाउँदै व्यापार तथा आवागमनलाई सहज बनाउनुपर्ने उनको भनाइ छ ।
नेपाल–भारत सम्बन्धको आधार पारस्परिक विश्वास हुनुपर्ने उल्लेख गर्दै लामिछानेले सीमा लगायतका विवादित विषयहरूलाई ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । उनले अतिराष्ट्रवादी भाषणबाजीले समस्या समाधान नगर्ने भन्दै प्रमाणमा आधारित संवाद र व्यावहारिक कूटनीतिक दृष्टिकोणको पक्षमा आफू रहेको उल्लेख गरेका छन् ।
लेखमा उनले स्थिर र समृद्ध नेपाल भारतको हितमा समेत रहेको तर्क गर्दै नेपालको आर्थिक विकासलाई भारतका लागि पनि रणनीतिक आवश्यकता भएको बताएका छन् ।
लामिछानेले वर्तमान समयलाई नेपाल–भारत सम्बन्ध पुनः परिभाषित गर्ने ऐतिहासिक अवसरको रूपमा चित्रण गर्दै विगतका आशंका र अविश्वासभन्दा साझा भविष्यका सम्भावनालाई केन्द्रमा राखेर दुवै देशले नयाँ साझेदारी निर्माण गर्नुपर्ने बताएका छन् । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री Narendra Modi ले नेपाल भ्रमणका क्रममा दुई देशबीचका सीमाहरू अवरोध होइन, पुल बन्नुपर्ने धारणा व्यक्त गरेको स्मरण गर्दै त्यसै भावनाअनुसार सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्