टीकापुर (कैलाली): अत्यधिक गर्मीका कारण कैलाली जिल्लामा जनजीवन मात्र होइन, विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ। तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि टीकापुरका विद्यालयहरूमा विद्यार्थी कक्षामै बेहोस हुने घटना बढ्न थालेको छ।
टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयमा सोमबार चार जना विद्यार्थी बेहोस भएपछि उनीहरूलाई विद्यालयमै रहेको आराम कक्षामा राखेर प्राथमिक उपचार गरिएको थियो। आज पनि थप दुई विद्यार्थी बिरामी परेका विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयहरूमा एउटै कक्षामा ८० देखि १०० जना विद्यार्थी राखिनु, पर्याप्त पङ्खाको अभाव र बारम्बार हुने विद्युत् अनियमितताका कारण कक्षा कोठाभित्रको तापक्रम अत्यधिक बढेको विद्यार्थीहरूको गुनासो छ। धेरै विद्यार्थीले टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउनेजस्ता समस्या भोग्दै बीचमै कक्षा छोडेर घर फर्किन बाध्य भएको बताएका छन्।
केही विद्यालयका टिनका छानाले कक्षा कोठा झन् तातो बनाउने समस्या थपिएको छ। गर्मीका कारण बिहानको प्रार्थना स्थगित गरिएको भए पनि दिउँसो सञ्चालन हुने कक्षाले विद्यार्थीलाई बढी समस्या दिइरहेको प्रधानाध्यापकहरूले बताएका छन्। अभिभावकहरूले भने बिहानै कक्षा सञ्चालन गर्न माग गरेका छन्।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया अनुसार कैलालीको तापक्रम लगातार ४० देखि ४१ डिग्री सेल्सियसको आसपास रहेको छ। केही दिनअघि यही अत्यधिक गर्मीका कारण सुरक्षाकर्मीसमेत ‘हिट स्ट्रोक’ भएर बेहोस भएका थिए।
अत्यधिक गर्मी, कमजोर पूर्वाधार र स्वास्थ्य जोखिमका कारण अहिले कैलालीका विद्यालयहरूमा नियमित पठनपाठन नै प्रभावित बनेको छ।





प्रतिक्रिया दिनुहोस्