काठमाडौँ- सुर्तीजन्य पदार्थमा कर बढाउन माग गर्दै सत्ता पक्षीय ३० सांसदले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति समेत रहेकी डा. ओजश्वी शेरचनको नेतृत्वमा उक्त पत्र बुझाइएको छ।
हस्ताक्षर गर्ने सांसदहरुमा डा. शेरचन र डा. चन्द संगै डा. लेखजंग थापा, डा. तोसिमा कार्की, विदुषी राणा, सुम्निमा उदास, भुमिका श्रेष्ठ, सुस्मा स्वर्णकार र लिमा अधिकारी रहेका छन् ।
यस्तै समीक्षा बास्कोटा, खिमा विक, भरतप्रसाद पराजुली, कृष्णकुमार कार्की, स्मृति सेन्चुरी, रचना खतिवडा, मञ्जु भुसाल, टेबहादुर शाक्य, अरविन्द साह, खगेन्द्र सुनार, अशोककुमार चौधरी, ध्रुवराज राई, ज्ञानेन्द्रसिंह महता रहेका छन् । यसैगरी कृपा महर्जन, रुकेश रञ्जित, कुशुम महर्जन, र कामिनी चौधरीले पनि ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
डा शेरचनले भनिन्, ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यको ७५% भन्दा बढी कर हुनुपर्ने सिफारिस गरेको छ, जसले सुर्ती सेवन घटाउन, अकाल मृत्यु रोक्न र जनस्वास्थ्य सुधार गर्न मद्दत गर्छ। तर नेपालमा सुर्ती कर दक्षिण एशियाकै न्यून दरमध्ये पर्ने भएकाले जनस्वास्थ्य संरक्षणका लागि यसलाई उल्लेखनीय र नियमित रूपमा वृद्धि गर्न आवश्यक छ।’
अर्का सांसद डा. आनन्दबहादुर चन्दले आगामी बजेट मार्फत सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थमा अन्तशुल्क र स्वास्थ्य जोखिम करमा उल्लेख्य बृद्धि गर्न सबै सांसदहरु सकारात्मक भएको बताए। सरकारले यस विषयलाई गम्भीरतापूर्वक सोच्न आग्रह गरिएको उनको भनाइ छ।
‘हामी दक्षिण एशियामै कम कर लगाउने मुलुकमा परेका छौँ । यसले अन्तराष्ट्रिय स्तरमा पनि हाम्रो छवि कमजोर देखिदैछ । त्यो भन्दा महत्वपूर्ण जनस्वास्थ्यको सवाल छ । यसलाई सरकारले विशेष रुपमा हेर्छ भन्ने विश्वास छ,’ उनले भने ।
के भनिएको छ ध्यानाकर्षण पत्रमा ?
नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगबाट वार्षिक करिब ३९ हजार २०० को मृत्यु हुने गरेको छ। जुन कुल मृत्युको १५ देखि २४ प्रतिशतसम्म हो।
नसर्ने रोगहरु जस्तै मुटुरोग, क्यान्सर, फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोग र स्ट्रोक र दम जस्ता रोगहरुको मुख्य कारकमध्ये एक सूर्तिजन्य पदार्थ हो। यी रोगहरूको उपचार महँगो हुन्छन्, दीर्घ रोग हुनुका साथै स्वास्थ्य बीमा प्रणालीका लागि उच्च लागतयुक्त छ।
सूर्तिजन्य पदार्थको आर्थिक भार
नेपालमा सूर्तिजन्य पदार्थको प्रयोग सार्वजनिक स्वास्थ्य मात्र होइन, राष्ट्रिय अर्थतन्त्र र स्वास्थ्य बीमा प्रणालीका लागि पनि गम्भीर चुनौती बनेको छ। उपलब्ध तथ्यांकअनुसार नेपालमा सूर्तिजन्य पदार्थका कारण वार्षिक करिब रु. ४५ अर्ब बराबरको आर्थिक भार सिर्जना भइरहेको छ। यसमा स्वास्थ्य उपचार खर्च, उत्पादकत्वमा कमी, दीर्घकालीन रोगको व्यवस्थापन तथा अकाल मृत्युबाट हुने आर्थिक क्षति समावेश छन्।
नेपालमा कुल स्वास्थ्य खर्चको करिब ५५ प्रतिशत खर्च (Out of pocket Spending) व्यक्तिगत रूपमा नागरिकले नै वहन गर्नुपरेको अवस्था छ, जसको ५४.६ प्रतिशत नसर्ने रोगको उपचारमा खर्च हुन्छ। यसले हरेक वर्ष २.९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि धकेलिरहेको छ। स्वास्थ्य बीमामा पनि यसले अत्याधिक भार थपिरहेको छ। तर नसर्ने रोग निरोधात्मक हुन्छन् । सुर्तिजन्य पदार्थको कर वृद्धि गरी त्यसको प्रयोगबाट लाग्ने रोग न्युनिकरण गर्न सकिन्छ । स्वास्थ्य बीमामा पर्ने भार समेत घट्न जान्छ ।
हालको कर संरचना र राजस्व अवस्था
हाल नेपालमा सूर्तिजन्य पदार्थमा लगाइएको कर दक्षिण एशियामै सवैभन्दा कम खुद्रा मूल्यको ३५.७ प्रतिशत छ, जबकी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तिमा ७५ प्रतिशत पुर्याउन सिफारिस गरेको छ। जस्तै भारतमा करिब ६१ प्रतिशत, बंगलादेशमा ६२.६ प्रतिशत र थाइल्यान्डमा ७८.१ प्रतिशत कर रहेको छ।
नेपालले सुर्तिजन्य पदार्थमा लगाएको कर र राजश्व संकलन यसप्रकार रहेको छ :
• प्रति खिल्ली औसत अन्तःशुल्क: रु. २.३२
• प्रति खिल्ली स्वास्थ्य जोखिम कर: रु. ०.६
सुर्तिजन्य पदार्थमा लाग्ने कर र करवृद्धिका कारणहरु
१ अन्त:शुल्कमा वृद्धि
हाल:
• प्रति खिल्ली औसत अन्तःशुल्क: रु. २.३२
• कुल अन्तःशुल्क संकलन: रु. २६ अर्ब २२ करोड
यदि प्रति खिल्ली अन्तःशुल्क औसत रु. ४ पुर्याइयो भने:
• कुल राजस्व: रु. ४५ अर्ब ६ करोड ६६ लाख ६६ हजार ६ सय ६८
• अतिरिक्त राजस्व: रु. १८ अर्ब ८४ करोड ६६ लाख ६६ हजार ६ सय ६८
२ स्वास्थ्य जोखिम कर वृद्धि
हाल:
• प्रति खिल्ली स्वास्थ्य जोखिम कर: रु. ०.६
• कुल स्वास्थ्य जोखिम कर संकलन: रु. ६ अर्ब ७६ करोड
यदि प्रति खिल्ली स्वास्थ्य जोखिम कर रु. २ पुर्याइयो भने:
• अनुमानित स्वास्थ्य जोखिम कर संकलन: करिब रु. २२ अर्ब ५३ करोड ३३ लाख ३३ हजार
• जुन गत वर्षको तुलनामा १५ अर्ब ७७ करोड बढी हुन आउँछ
• अत: प्रति खिल्ली औसत अन्तःशुल्क: रु. २.३२ पैसाबाट बढाएर ४ रुपैयाँ र स्वास्थ्य जोखिम कर ६० पैसाबाट २ रुपैयाँ बनाएर १ खिल्लीमा ३ रुपैयाँ ८ पैसा बढाउँदा करिब ३४ अर्ब ६२ करोड थप राजश्व पनि संकलन हुने, नसर्ने रोगबाट हुने मृत्युदर घट्ने र स्वास्थ्य बीमामा पर्ने भार समेत घट्ने हुँदा आगामी वर्षमा सुर्तिजन्य पदार्थ र मदिरामा अन्तशुल्क अत्याधिक मात्रामा बढाउन अनुरोध गरिन्छ ।





प्रतिक्रिया दिनुहोस्