धनगढीः कमलबहादुर शाहले बिहीबार कैलालीको लम्कीचुहास्थित प्रादेशिक अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरेसँगै क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। अस्पताल सञ्चालन र स्वामित्वको विषयमा प्रदेश सरकार तथा लम्कीचुहा नगरपालिकाबीच लामो समयदेखि विवाद चलिरहेका बेला मुख्यमन्त्रीको भ्रमणलाई लक्षित गर्दै व्यापक प्रहरी परिचालन गरिएको हो।
मुख्यमन्त्री शाह बिहानै उद्घाटन कार्यक्रममा सहभागी हुन लम्कीचुहा पुगेका थिए। उनको आगमनअघि नै अस्पताल परिसर, मुख्य सडक र आसपासका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरीले जनाएको छ। संभावित विरोध प्रदर्शन र अवरोधलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको बताइएको छ।
अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति हुन नसक्दा विवाद झन् गहिरिएको छ। प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत वैशाखमै मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवसहित तीन जना कर्मचारी खटाएको थियो। तर नगर प्रमुख सुशीला शाहीले अस्पताल औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण नभएको भन्दै कर्मचारीलाई हाजिर हुन रोक लगाएपछि विवाद चुलिएको थियो।
यसै विवादको असरस्वरूप गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत गरिएको थियो। त्यसयता अस्पताल सञ्चालन अन्योलमा पर्दै आएको छ। प्रदेश सरकारले आवश्यक प्रक्रिया पूरा गरी बजेट विनियोजन भइसकेको दाबी गरे पनि नगरपालिकाले हस्तान्तरण प्रक्रिया नटुंगिएको अडान राख्दै आएको छ।
मुख्यमन्त्री शाह र नगर प्रमुख शाहीबीचको राजनीतिक मतभेदसमेत अस्पताल विवादसँग जोडिएको चर्चा स्थानीयस्तरमा छ। सोही कारण उद्घाटन कार्यक्रमलाई लिएर सम्भावित तनाव हुन सक्ने आँकलन गर्दै प्रशासनले सुरक्षा निगरानी बढाएको हो।





प्रतिक्रिया दिनुहोस्