सुदूरपश्चिमका ५ सांसद आफूसँग रहेको रेशम चौधरीको दाबी, तत्काल कसैसँग पार्टी एकता नगर्ने भनाइ

कैलाली । नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी ले सुदूरपश्चिम प्रदेशका ५ सांसद आफूहरूको पक्षमा रहेको दाबी गरेका छन्।

कैलालीको धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले तीमध्ये २ सांसदले पद गए पनि साथ नछोड्ने बताइसकेको उल्लेख गरे।

साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभामा ७ सांसद रहेका छन्। नेकपासँग एकता भएपछि उनीहरूलाई नेकपाकै सांसदको सूचीमा राखिएको छ। तर, रेशम चौधरीले ७ मध्ये ५ सांसद अहिले पनि एकताको विपक्षमा रहेको र आफूहरूसँगै रहेको दाबी गरे। उनले लुम्बिनी प्रदेशका ३ र मधेश प्रदेशका १ सांसद पनि आफूहरूको पक्षमा रहेको बताए।

‘सुदूरपश्चिममा ५, लुम्बिनीमा ३ र मधेश प्रदेशमा १ सांसद हामीसँगै हुनुहुन्छ। अधिकांश स्थानीय तहका जनप्रतिनिधि पनि साथमै हुनुहुन्छ,’ उनले भने, ‘सुदूरपश्चिमका ५ मध्ये २ सांसदले त पद नै गए पनि साथ नछोड्ने बताउनुभएको छ। ’

पूर्वमन्त्री रामेश्वर चौधरी, घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र टिक थापा को नाम उल्लेख गर्दै उनले उनीहरू आफूहरूसँग रहेको दाबी गरे।

तर, पूर्वमन्त्री खुशीराम चौधरी र कैलाश चौधरी बारे भने उनले कुनै दाबी गरेनन्।

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको विषयमा पनि रेशम चौधरीले केही बेरअघि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवाद भएको बताए।

‘प्रचण्ड जीले फोन गर्नुभएको थियो। हामी सुदूरपश्चिममा ५ जना छौँ, हामीले केही गर्न सक्दैनौँ भनेको छु ’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा अहिलेको अवस्थामा सरकार नचलाएकै राम्रो हुन्छ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली जाने विषयले पनि पार्टीभित्र देखिएको समस्यालाई उजागर गरेको टिप्पणी गरे।

‘सभापति दिल्ली जाने कुरा छ। धरातलमा हलचल देखिएको छ। प्रधानमन्त्री सदनमा नजाने, राष्ट्रपतिको सम्बोधनमा पनि उपस्थित नहुने कुरा गम्भीर हो, ’ उनले भने।

रास्वपा, श्रम संस्कृति र उज्यालो नेपालजस्ता नयाँ पार्टीहरूलाई संकेत गर्दै उनले नयाँ दलहरूको नीति, सिद्धान्त र राजनीतिक दस्ताबेज स्पष्ट नभएको टिप्पणी गरे।

पुराना पार्टीप्रतिको आक्रोशका कारण अहिलेको जनमत बनेको उल्लेख गर्दै उनले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताए।

‘हामी कुनै पार्टीसँग मर्ज हुने पक्षमा छैनौँ। सिके राउतबाट धोका खायौँ, ’ उनले भने, ‘ठूला दलहरूले षड्यन्त्र गरेर मलाई एक दिन थुने। सुनियोजित ढंगले हाम्रो एकता भाँडियो। ’

नाउपा आन्दोलनबाट सुरु भएको उल्लेख गर्दै उनले अहिले पनि आफ्ना मुद्दा नबिर्सिएको दाबी गरे।

‘हामी सिंगो समुदायलाई न्याय दिने पक्षमा छौँ। भौगोलिक तथा सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको नीति अवलम्बन गरेका छौँ,’उनले भने।

उनले राज्यले थारू समुदायमाथि अन्याय गरेको आरोप पनि लगाए।

‘अहिले झुपडी हटाएर सर्वनाश गरिदिएको छ। नागरिकको सर्वोच्चता उल्लंघन भएको छ। नागरिकमाथि दमन भइरहेको छ,’ उनको आरोप थियो ।

पत्रकारहरूसँगको भेटमा उनले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ बारे पनि बोले। श्रीमान्–श्रीमतीबीचको विवादले चुनावमा असर पारेको उनको भनाइ थियो।

‘दम्पतीबीचको लफडाले पनि जनताले महसुस गरेका छन्। मैले मुद्दा छोडेको थिइनँ। उहाँ पार्टीको रणनीति र कार्यदिशाअनुसार अघि बढ्न सक्नुभएन, ’ उनले भने, ‘भूमि व्यवस्था मन्त्रालय पाएर पनि भूमिहीनलाई जग्गा दिन सकेनौं, लालपुर्जा दिन सकेनौं।’

हाल पार्टीको कार्यदिशा फरक भइरहेको भन्दै उनले धेरै आलोचना गर्न आवश्यक नरहेको बताए।

रेशम चौधरीले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग पनि गरे।

‘राजनीतिक विद्रोहको प्रतिवेदन सार्वजनिक नहुनु शंकास्पद छ। देशमा अराजकता मौलाउँदै गएको छ। हिजो समय तोकेर प्रतिवेदन सार्वजनिक गराउँछौं भन्नेहरू पनि अहिले मौन छन्, ’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार