कञ्चनपुरःकञ्चनपुरमा बाघको आक्रमणबाट एकै परिवारका नाबालकसहित चार जना घाइते भएका छन्। घटना मंगलबार साँझ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिक हुलाकी सडकमा भएको हो।
प्रहरीका अनुसार महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको मोटरसाइकलमाथि अचानक बाघले आक्रमण गरेको थियो। आक्रमणपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स तथा १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका हुन्।
साँझ करिब ७ः३० बजेतिर भएको घटनामा बाघले चालक वीरेन्द्र ठगुन्नाको हातमा आक्रमण गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा उनको दाहिने खुट्टा, दुवै हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार कल्पना ठगुन्ना र बालक रियान्सको टाउको, अनुहार तथा खुट्टामा चोट लागेको छ। अर्की घाइते आरुसी साहुको टाउको, अनुहार र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि घाइतेहरूलाई महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गराएर थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्