धनगढी — बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीयमाथि कुटपिट र लुटपाट गरेको आरोपमा २३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी उजुरी दर्ता भएको छ।
जेठ ३ गते लाम्पाटामा पुगेको समूहले स्थानीयमाथि आक्रमण गर्दै कुटपिट गर्नुका साथै केही व्यक्तिलाई बन्धक बनाएर राखेको आरोप छ। घटनामा हुम्लाको खार्पुनाथ–२ थलीका स्थानीय संलग्न रहेको बताइएको छ।
हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार करिब तीन सय जनाको समूह लाम्पाटामा पुगेर स्थानीयलाई कुटपिट गर्नुका साथै घरमा लुटपाटसमेत गरेको थियो। उनका अनुसार वडा सदस्य पेमागारा गुरुङसहित पाँच जनालाई बन्धक बनाएर राखिएको थियो।
समूहले वन्यजन्तु र जडीबुटी तस्करीसम्बन्धी कागजातसमेत तयार पारी जेठ ८ गतेसम्म लाम्पाटा खाली गर्न चेतावनी दिएको दाबी गरिएको छ। पीडित पक्षका अनुसार उनीहरूलाई जेठ ६ गतेसम्म बन्धक बनाइएको थियो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेश शाहीका अनुसार घटनामा संलग्न भनिएका २३ जनाविरुद्ध उजुरी दर्ता भएको छ भने उनीहरूको पहिचान गोप्य राखिएको छ।
यता, स्थानीय युवा सञ्जालले घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ नगरिएको भन्दै आपत्ति जनाएको छ। प्रहरीले भने दोषीहरूको खोजीका लागि टोली परिचालन गरिएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्