डडेल्धुरा — जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडामा घाँस काट्न रुखमा चढेकी एक बालविकास शिक्षिकाको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३७ वर्षीया लक्ष्मी भण्डारी रहेको प्रहरीले जनाएको छ।
आइतबार घर नजिकै घाँस काट्ने क्रममा उनी अचानक रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला उनको ज्यान गएको स्थानीयले बताएका छन्।
भण्डारी खतेडास्थित घनघस्या माध्यमिक विद्यालयमा बालविकास शिक्षिकाका रूपमा कार्यरत थिइन्। विद्यालयका लेखापाल रविन्द्र भण्डारीका अनुसार उनी लामो समयदेखि विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन्।
दुर्गम भूगोलका कारण खतेडाबाट जिल्ला अस्पताल पुग्न करिब दुई घण्टा लाग्ने स्थानीयवासी बताउँछन्। समयमा उपचार सेवा उपलब्ध हुन नसक्दा ग्रामीण क्षेत्रमा सामान्य दुर्घटनासमेत ज्यानै जाने अवस्था सिर्जना हुने गरेको उनीहरूको गुनासो छ।
घटनापछि गाउँमा शोक छाएको छ भने स्थानीयले ग्रामीण क्षेत्रमा स्वास्थ्य र यातायात सेवामा सुधार गर्न माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्