धनगढी । “महिला पनि हरेक क्षेत्रमा अब्बल बन्न सक्छन्, जुनसुकै काम गर्न सक्षम छन्” भन्ने आत्मविश्वास बोकेर अघि बढ्ने स्वभावकी व्यवसायी कोपिला कुँवर नवजीवन सहकारी संस्थाको चुनावमा पहिलो प्रयासमै सफल भएकी छन् । सामाजिक सञ्जालमार्फत फरक पहिचान बनाउन सफल कुँवरले नवजीवन सहकारी संस्थाको कार्य समिति सदस्य पदमा लोकप्रिय मतसहित विजय हासिल गरेकी हुन् ।
अध्यक्षमा विजयी भएका गोपालराज पाठकको प्यानलबाट उम्मेदवारी दिएकी कुँवरले चार हजार ११२ मत प्राप्त गरेकी छन् । उनी सदस्य पदमा दोस्रो सर्वाधिक मत ल्याउने उम्मेदवार बनेकी छन् । पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार केशवराज जोशी रहेका छन्, जसले पाँच हजार १४३ मत प्राप्त गरेका छन् ।
गत असोजमा सम्पन्न उद्योग वाणिज्य संघ कैलालीको निर्वाचनमा सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएकी कुँवरले तीन सय ३३ मत प्राप्त गरेपनि जित निकाल्न सकेकी थिइनन् । तर, नवजीवन सहकारी संस्थाको चुनावमा भने उनले उल्लेखनीय सफलता हात पारेकी हुन् ।
निर्वाचनमा विजयी भएपछि कुँवरले सामाजिक सञ्जालमार्फत मतदाता तथा शेयर सदस्यप्रति आभार व्यक्त गरेकी छन् । उनले नवजीवनजस्तो गरिमामय संस्थाको विकास र सुधारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता पनि जनाएकी छन् ।
उनले आफ्नो स्टाटसमार्फत श्रीमान, बुवा–आमा, परिवार, इष्टमित्र, पत्रकार तथा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै यो जितसँगै थप जिम्मेवारी र कर्तव्यबोध भएको उल्लेख गरेकी छन् ।




प्रतिक्रिया दिनुहोस्