काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेताहरूबीच अभूतपूर्व शक्ति संघर्ष सुरु भएको छ। निर्वाचनको परिणाम र वर्तमान कार्यशैलीलाई लिएर बहुमत पदाधिकारीहरूले अध्यक्ष ओलीमाथि खनिँदै तत्काल नेतृत्व छाड्न दबाब दिएपछि बैठकमा ठूलो खैलाबैला मच्चिएको हो।
पार्टीभित्रबाट चौतर्फी घेराबन्दी र राजीनामाको माग आएपछि आक्रोशित बनेका अध्यक्ष ओलीले तत्कालै प्रतिवाद गर्दै आफूले कुनै पनि हालतमा नेतृत्व नछाड्ने स्पष्ट अडान लिएका छन्।
बैठकमा नेताहरूको कडा प्रहार: ‘यसरी पार्टी चल्दैन’
बैठकमा सहभागी महासचिव, उपाध्यक्षहरू र उपमहासचिवसहितका बहुमत शीर्ष नेताहरूले पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेतृत्वको कडा आलोचना गरेका थिए। सामूहिक रूपमा आक्रोश पोख्दै नेताहरूले भनेका थिए:
“अहिलेकै अवस्थामा पार्टी अगाडि बढ्न सक्दैन। पार्टीलाई थप संकट र क्षति हुनबाट जोगाउन तपाईंले अब नेतृत्व छोड्नुस् र मार्गप्रशस्त गर्नुस्।”
१९ सदस्यीय सचिवालयका बहुमत प्रभावशाली नेताहरू विपक्षमा उभिएर राजीनामा माग गरेपछि एमालेको संस्थापन पक्ष रक्षात्मक अवस्थामा पुगेको थियो।
अध्यक्ष ओलीको कडा काउन्टर र बैठक अन्त्यको घोषणा
आफूमाथि पदत्यागका लागि संगठित दबाब बढेपछि अध्यक्ष ओलीले बैठकमा कडा शब्दमा जवाफ फर्काउँदै तत्कालै संवाद बन्द गराएका थिए। नेताहरूलाई चेतावनी दिँदै ओलीले गर्जन गरे:
“पार्टीलाई फेरि पुरानो अवस्थामा ल्याउँछु। यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ। तपाईंहरू सम्झाउनतिर लाग्दै नलाग्नुस्। यो बैठक धेरै लामो भइसक्यो। अब सकौं। तपाईंहरूले धेरै जोड नगर्नुस्।”
ओलीले आफू महाधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष भएको भन्दै कसैले दबाब दिँदैमा पद नछाड्ने ढिपी कसेपछि बैठक बिना निष्कर्ष टुङ्गिएको स्रोतको दाबी छ।
एमालेभित्र चर्कियो आन्तरिक संकट
विगतमा अध्यक्ष ओलीलाई बलियो साथ दिँदै आएका कोर-टिमका मुख्य नेताहरू नै अहिले उनको कार्यशैलीको विरुद्धमा उभिएका छन्। ओलीले ‘यू-टर्न’ नलिने र थप संवाद नगर्ने अडान लिएपछि एमालेभित्रको आन्तरिक शक्ति संघर्ष अब कुन मोडमा पुग्छ र यसले पार्टीलाई कता लैजान्छ भन्ने कुराले राजनीतिक वृत्त निकै तातेको छ।




प्रतिक्रिया दिनुहोस्