धनगढी (कैलाली)। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा आज सुदूरपश्चिमको प्रशासनिक केन्द्र धनगढीमा विशेष प्रदेशस्तरीय भेला आयोजना गरिँदै छ।
पार्टी संस्थापन (शेरबहादुर देउवा) पक्षीय नेतृत्वमा रहेको प्रदेश कार्यसमितिले संगठनभित्र बृहत्तर एकता र पुनर्जागरण ल्याउने उद्देश्यका साथ यस भेलाको आव्हान गरेको हो।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल नाराका साथ आयोजना हुन लागेको यस भेलाले पछिल्लो समय पार्टीभित्र खस्कँदै गएको आन्तरिक एकतालाई पुनः सुदृढ बनाउने र शिथिल बनेको सङ्गठनलाई तल्लो तहसम्म नयाँ ऊर्जा प्रदान गर्ने मुख्य लक्ष्य राखेको आयोजक पक्षले जनाएको छ।
भेलामा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरलगायत संस्थापन पक्षीय प्रादेशिक तथा केन्द्रीय नेताहरू र ठूलो सङ्ख्यामा कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ।
यो भेला यस्तो समयमा आयोजना हुँदै छ, जब सुदूरपश्चिम कांग्रेसभित्रको आन्तरिक विवाद र गुटबन्दी उत्कर्षमा पुगेको छ। केन्द्रमा सभापति शेरबहादुर देउवा र इतर पक्ष (शेखर कोइराला तथा गगन थापा समूह) बीचको शक्ति संघर्षको प्रत्यक्ष छाया सुदूरपश्चिम प्रदेशमा पनि लामो समयदेखि देखिँदै आएको छ।
विशेष गरी प्रदेश कार्यसमितिको गठन, जिल्ला सभापतिहरूको चयन, तथा भ्रातृ संगठनहरूको नेतृत्व बाँडफाँटमा दुवै पक्षबीच गम्भीर मतभेद रहँदै आएको छ। इतर पक्षले प्रदेश सभापति वीरबहादुर बलायरमाथि पार्टीलाई एकलौटी ढङ्गले चलाएको, विधानविपरीत निर्णयहरू गरेको र इतर समूहका नेता-कार्यकर्ताहरूलाई नियोजित रूपमा पाखा लगाएको आरोप लगाउँदै आएको छ।
अर्कातर्फ, संस्थापन पक्षले भने पार्टीको आधिकारिक नेतृत्व र निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने र संगठनलाई अराजकतातिर धकेल्न नहुने तर्क अघि सार्दै आएको छ।
सुदूरपश्चिम कांग्रेसको यो आन्तरिक खिचातानी विगतमा प्रदेश सरकार गठन र मन्त्री चयनका क्रममा समेत सार्वजनिक रूपमै छताछुल्ल भएको थियो।
संसदीय दलको नेता चयनदेखि सत्ता समीकरणका महत्त्वपूर्ण मोडहरूमा दुवै गुटले आफ्ना अडान नछोड्दा पार्टीभित्र तीव्र ध्रुवीकरण बढेको थियो, जसको असर स्थानीय तहका समितिहरू र आम कार्यकर्ताको मनोबलमा समेत परेको विश्लेषकहरूको बुझाइ छ।
यस्तो पृष्ठभूमिमा आयोजना गरिएको आजको भेलालाई इतर पक्षले संशयका साथ हेरिरहेको छ भने देउवा पक्षले यसलाई खण्डित भएको पार्टी पङ्क्तिलाई जोड्ने र आसन्न राजनीतिक चुनौतीहरूको सामना गर्न रणनीतिक रूपमा संगठनलाई बलियो बनाउने महत्त्वपूर्ण कसरतका रूपमा लिएको छ।
आन्तरिक विवादको यो चक्रव्यूहका बीच हुन लागेको भेलाले कूटनीतिक रूपमा सबै पक्षलाई समेटेर वास्तविक एकता स्थापित गर्न सक्छ वा गुटीय शक्ति प्रदर्शनमा मात्रै सीमित हुन्छ भन्ने कुरालाई सुदूरपश्चिमको राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्