डडेल्धुरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डडेल्धुरा अस्पताल मा बुझाएको ज्ञापनपत्रलाई लिएर विवाद उत्पन्न भएको छ। अस्पताल विकास समितिको कार्यकाल सकिएको दाबी गर्दै रास्वपाले “नयाँ समिति गठन नभएसम्म कुनै पनि कामकारबाही नगर्न–नगराउन” आग्रहसहित पत्र बुझाएपछि त्यसलाई राजनीतिक दबाबको प्रयासका रूपमा हेरिएको हो।
रास्वपाका जिल्ला सभापति सुरेन्द्र अवस्थी नेतृत्वको टोलीले अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएको थियो। उक्त पत्र अस्पतालको सूचना बोर्डमै टाँसिएपछि विषयले थप चर्चा पाएको छ।
अस्पतालजस्तो संवेदनशील संस्थामा राजनीतिक दलले प्रशासनिक निर्देशनजस्तै भाषा प्रयोग गरेको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको छ। आलोचकहरूले यसलाई अस्पताल प्रशासनमाथि अनावश्यक दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
नागरिक अगुवा विष्णु भट्ट ले यस्ता गतिविधिले सुशासन र जनविश्वासमा असर पुग्न सक्ने बताएका छन्। उनले राजनीतिक हस्तक्षेप दोहोरिँदै गए सार्वजनिक संस्थाप्रतिको भरोसा कमजोर बन्ने चेतावनी दिएका छन्।
यता नेकपा बहुमत ले पनि रास्वपाको कदमप्रति असन्तुष्टि जनाएको छ। अस्पताल विकास समितिको काम रोक्न खोजिएको आरोप लगाउँदै उसले अस्पताल प्रशासनलाई दबाबमा नपर्न आग्रह गरेको छ। आवश्यक परे सडक आन्दोलनसमेत गर्ने चेतावनी पनि दिएको छ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा ले रास्वपाको टोली ज्ञापनपत्र बुझाउन आएको पुष्टि गर्दै कार्यकाल सकिएको अवस्थामा विकास समितिबाट काम अघि बढ्न कठिन हुने प्रतिक्रिया दिइन्।
तर अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा ले भने आफ्नो कार्यकाल अझै बाँकी रहेको दाबी गरेका छन्। उनका अनुसार २०८० जेठ ३ गते तीन वर्षका लागि नियुक्ति भएकाले कार्यकाल असार ३ गतेसम्म कायम रहनेछ।




प्रतिक्रिया दिनुहोस्