धनगढी । नवजीवन सहकारी संस्थाको ३२औँ साधारण सभा तथा निर्वाचनका लागि पबित्रा कुमारी धिक्त पाण्डेले सदस्य पदमा उम्मेदवारी दिएकी छन्। आगामी जेठ ९ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले सहकारीभित्र सुशासन, पारदर्शिता र सदस्यहरूको बचत सुरक्षालाई आफ्नो मुख्य एजेण्डा बनाएकी छन्।
हजारौँ सदस्यको भरोसा र भविष्यसँग जोडिएको नवजीवन सहकारी संस्थामा पारदर्शी र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताउँदै पाण्डेले आफू त्यसका लागि प्रतिबद्ध रहेको उल्लेख गरेकी छन्। “सहकारी सदस्यहरूको विश्वास जोगाउँदै संस्थालाई अझ व्यवस्थित र पारदर्शी बनाउने मेरो लक्ष्य हो,” उनले भनिन्।
पाण्डे लामो समयदेखि सामाजिक तथा नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएकी छन्। उनी दृष्टि फाउन्डेसनकी सञ्चालक हुन् भने धनगढी जेसिजकी पूर्व अध्यक्ष तथा धनगढी लेडिज जेसिजकी प्रमुख सल्लाहकारको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन्। साथै इन्सुरेन्स क्षेत्रमा लामो समय काम गरेको अनुभवसमेत उनीसँग रहेको छ।
सामाजिक संस्था सञ्चालन, नेतृत्व विकास तथा व्यवस्थापन क्षेत्रमा हासिल गरेको अनुभव सहकारीको प्रभावकारी सञ्चालनमा उपयोगी हुने विश्वास पाण्डेले व्यक्त गरेकी छन्। सदस्यको हित, बचतको सुरक्षा र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले जनाएकी छन्।
नवजीवन सहकारी संस्थाको ३२औँ निर्वाचनलाई यसपटक विशेष महत्वका साथ हेरिएको छ। निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भइरहेका बेला पाण्डेको उम्मेदवारीलाई पनि चासोका साथ हेरिएको छ। अध्यक्ष पदका उम्मेदवार घनबहादुर शाहको प्यानलबाट पाण्डेले सदस्य पदमा उम्मेदवारी दिएकी हुन् ।




प्रतिक्रिया दिनुहोस्