राप्रपाका नेता ज्ञानबहादुर शाहीले बागमती किनारको संरक्षणभन्दा नागरिकको जीवन ठूलो विषय भएको बताएका छन् । मंगलबारको संसद बैठकमा बोल्दै उनले राज्य सधैं निमुखा र कमजोर नागरिकको सहारा बन्नुपर्नेमा जोड दिए ।
सरकारी सम्पत्ति जोगाउनुपर्ने पक्षमा आफू रहेको बताउँदै उनले उचित विकल्पबिना सुकुम्बासीलाई रातारात हटाउन डोजर चलाउनु मानवियतामाथिको प्रहार भएको टिप्पणी गरे । उनले सुकुम्बासीमाथि होइन, ‘हुकुम्बासी मानसिकता’माथि प्रहार गर्नुपर्ने बताएका छन् ।
शाहीले बागमती किनारमा बसोबास गरिरहेकी सुत्केरीमाथि राज्यले प्रहरी परिचालन गरेर अमानवीय व्यवहार गरेको आरोप लगाए । ‘सत्ता स्थायी हुँदैन, जनता स्थायी हुन्,’ उनले भने, ‘मन्त्रिपरिषद्का सदस्यहरू नै हुकुमबासी भएको प्रमाण सार्वजनिक भइसकेको छ । उनीहरूबाट कारबाही सुरु गर्न कसले रोकेको छ ?’
सुकुम्बासी बस्ती हटाउने क्रममा नागरिकले आत्महत्या गरेको समाचारले सत्ता पक्षलाई नछोएको भन्दै उनले दुःख व्यक्त गरे । नागरिकको ज्यानको सुरक्षा गर्नु सरकारको दायित्व भए पनि अहिले नागरिक नै राज्यसँग डराउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा कर्णालीलाई उपेक्षा गरिएको आरोप लगाउँदै उनले अब कर्णालीले दया नभई अधिकार मागिरहेको बताए । उनले कर्णाली केन्द्रित विशेष बजेट ल्याउन सरकारसँग माग गरे ।
‘कर्णालीले भिख मागेको होइन, अधिकार मागेको हो,’ उनले भने, ‘कर्णाली समृद्ध हुँदा मात्रै देश समृद्ध बन्छ ।’




प्रतिक्रिया दिनुहोस्