काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले वर्तमान सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई ‘महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड’ को संज्ञा दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको सफलता र कार्यशैलीमाथि कडा टिप्पणी गरे।
नेता बादलले प्रतिनिधि सभा र संघीय सरकारमा नेतृत्व स्थापित गरेपछि रास्वपाले संसद्को अधिवेशन रोकेर ८ वटा अध्यादेश जारी गरेकोमा आपत्ति जनाए। उनले भने, “निर्धारित अधिवेशन स्थगन गरी अध्यादेश जारी गर्नुको राजनीतिक लक्ष्य राज्यको प्रशासन र न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो, जसमा रास्वपा सफल पनि देखियो।”
उनले रास्वपाको राजनीतिक सफलतालाई दशकौँको योगदान वा बलिदानको परिणाम मान्न अस्वीकार गरे। रास्वपाको उदयलाई उनले प्राविधिक र भू–राजनीतिक प्रभावसँग जोडेर व्याख्या गरे। “यो सफलता दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु तथा विश्व भू–राजनीतिक दृश्य–अदृश्य प्रभावहरूको कुल परिणाम हो,” बादलले दाबी गरे।
रास्वपाले आफ्नो कथित ‘निलो क्रान्ति’ लाई पूर्णता दिन आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभामा एकल नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको बादलले बताए। उनले रास्वपाको यो महत्त्वाकाङ्क्षाले स्थापित राजनीतिक प्रणाली र सन्तुलनमा पार्न सक्ने प्रभावप्रति संकेत गर्दै एमालेको धारणा स्पष्ट पारे।
सम्बोधनका क्रममा नेता बादलले नयाँ राजनीतिक शक्तिहरूको उदय विचार र सिद्धान्तभन्दा पनि परिस्थितिजन्य र प्राविधिक कारणले भएको तर्क गर्दै पुराना दलहरूले आफ्ना कमजोरी सुधार्नुपर्नेमा समेत जोड दिए।




प्रतिक्रिया दिनुहोस्