धनगढी :- धनगढी उपमहानगरपालिका ले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान सुरु गरेको छ। यस अभियानमार्फत सुदूरपश्चिमका प्राकृतिक तथा पर्यटकीय स्थलहरूलाई देश-विदेशमा चिनाउने लक्ष्य राखिएको छ।
अभियानअन्तर्गत उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प तर्फ प्रस्थान गरेको छ। टोलीको नेतृत्व मेयर गोपाल हमाल ले गरेका छन् भने करिब ३० जनाको सहभागिता रहेको छ। टोली सोमबार धनगढीबाट औपचारिक रूपमा यात्रामा निस्किएको हो।
सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले मेयर हमाल स्वयं पनि यस यात्रामा सहभागी भएका छन्। सोमबार धनगढीमा आयोजित बिदाइ कार्यक्रममा टोलीलाई बाजागाजा र फूलमालासहित सम्मानपूर्वक विदाइ गरिएको थियो।
मेयर हमालले यसअघि उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा पनि ‘सुन्दर सुदूरपश्चिम’ अभियान सञ्चालन गरेका थिए। अहिलेको यो अभियान त्यसकै निरन्तरता र अझ विस्तारित रूप भएको बताइएको छ।




प्रतिक्रिया दिनुहोस्