धनगढी — कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइन, चरेश तथा नियन्त्रित औषधिजन्य ट्याब्लेटसहित १० जनालाई एकै दिन पक्राउ गरेको छ।
कैलालीको गोदावरी नगरपालिका–१ मा ५१० मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय राजन हमाल पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले घर नजिकै कुखुराको फर्ममुनि लुकाइराखिएको अवस्थामा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ।
त्यस्तै, घोडाघोडी नगरपालिका–५ देउकलियाबाट १९ वर्षीय पूर्णबहादुर बिष्ट र सुरज नेपालीलाई १७० पिस नाइटाजेपाम ट्याब्लेट र चक्कु सहित पक्राउ गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट ४८० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय जीवनबहादुर खड्का र पुनर्बास नगरपालिका–६ की १८ वर्षीया किशोरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ४३० मिलिग्राम खैरो हेरोइनसहित ३२ वर्षीय हर्कबहादुर देउवा र ३६ वर्षीय दिलबहादुर चौधरी पक्राउ परेका छन्।
यस्तै, दोधारा चाँदनी नगरपालिका–२ लठ्ठाघाटमा ९ ग्राम ८३० मिलिग्राम चरेशसहित पसल सञ्चालक ४० वर्षीय गोर्खे दमाई र उनका १८ वर्षीय छोरा पक्राउ परेका छन्।
शुक्लाफाँटा नगरपालिका–१० नगरपालिका रोडमा २१.४७ ग्राम चरेशसहित ७० वर्षीय भीमबहादुर ऐरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
सबै घटनामा लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्