नयाँदिल्ली : संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलका खेल भारतमा हेर्न नपाइने भएको छ। आगामी जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने विश्वकपको ब्रोडकास्टिङ खरिद गर्न कुनै पनि भारतीय कम्पनीले चासो नदेखाएपछि भारतीयले विश्वकपका खेल हेर्न नपाउने सम्भावना बढेको हो।
विश्वकप फुटबलको ब्रोडकास्टिङ राइटको मूल्य महँगो भएको गुनासो बढेपछि विश्व फुटबलको सर्वोच्च संस्था फिफाले मिडिया राइटको मूल्य ६५ प्रतिशतसम्म घटाएको थियो। यसअघि १ सय मिलियन डलरमा बेच्दै आएको मिडिया राइट्सको मूल्य ३५ मिलियन डलरमा झारेको छ। यसका बाबजुद पनि अहिलेसम्म कुनै भारतीय कम्पनीले मिडिया राइट्स किनेका छैनन्।
सन् २०२२ को कतार विश्वकपको मिडिया राइट्सका लागि भारतीय कम्पनीले ६२ मिलियन डलर खर्च गरेको थियो। भायकम–१८ ले विश्वकपको एकै संस्करणका लागि सो रकम खर्चिएको थियो। तर, यस पटकको विश्वकप उत्तरी अमेरिकामा आयोजना हुँदा एसियाली क्षेत्रका दर्शक प्रभावित बन्ने छन्। राति १२ बजेदेखि बिहान ७ बजेसम्म खेल सञ्चालन हुनेछ। भारतमा रातको समयमा विश्वकपका खेल हेर्नुपर्ने भएकाले पनि भारतीय कम्पनीले चासो नदेखाएको जनाइएको छ।
भारतमा फुटबलको विज्ञापन बजार पनि धेरै ठूलो छैन। रियल मनी गेमिङमाथिको प्रतिबन्धका कारण पनि विज्ञापन बजार बिथोलिएको छ। जसका कारण पहिलेभन्दा विज्ञापन बजार र बजेट पनि कम भएको छ। यस्तै स्टार इन्डिया र भायकम–१८ मर्जर भएर नयाँ कम्पनी जियोस्टार बनेको छ। जियोस्टारले २५ मिलियन डलरसम्म खर्च गर्न उत्सुकता देखाए पनि फिफाले आफ्नो मूल्य स्पष्ट निर्धारण गरेकाले अहिलेसम्म भारतीय कम्पनीले विश्वकपको मिडिया राइट्स खरिद गर्न सकेका छैनन्।
सन् २०२२ को विश्वकपले भारतबाट १० मिलियन डिजिटल दर्शक पाएको थियो। त्यसैले मिडिया राइट्समा भारतीय कम्पनीले चासो नदेखाए फिफाले आफ्नै प्लेटफर्ममा लाइभ स्ट्रिम गर्नुपर्ने माग भारतमा उठेको छ।




प्रतिक्रिया दिनुहोस्