प्रचण्डको माओवाद र माओवादी केन्द्र विलुप्त भएको वर्ष बन्यो २०८२

काठमाडौँ । २०८२ साल प्रचण्ड नेतृत्वको साविक नेकपा माओवादी केन्द्र विलुप्त भएको वर्ष बन्यो । राष्ट्रियता, जनतन्त्र र जनजीविलाई मुख्य एजेण्डा बनाएर २०५२ साल फागुन १ गते प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह गरेको थियो ।

दश वर्ष (२०५२–०६२) सम्म चलेको विद्रोहको विरासतबाट राष्ट्रिय राजनीतिमा स्थापित भएको पार्टीले ३० वर्षमै पहिचान गुमाएकोमा लाखौँ माओवादी नेता तथा कार्यकर्ताले राम्रो मनेका छैनन् । यद्यपि शीर्ष नेताहरू माओवाद विचारधारा छाडेको नभई समय सापेक्षा समान विचार मिल्लेसँग एकता भएको जिकिर गर्छन् । माओवादी केन्द्रका तत्कालीन महासचिव देव गुरुङले पार्टीको नाम परिवर्तन हुँदैमा माओवाद विचारधारा त्यागेको भन्न नमिल्ने तर्क गरे ।

‘हामीले विचार मिल्ने समान वामपन्थीबिच एकताका लागि पार्टीको नाम परिवर्तन गरेका हौँ । माओवाद भनेकै मार्क्सवादको विकसित रूप हो । रूपमा जेसुकै भए पनि सारमा मार्क्सवाद, लेनिनवाद र माओवाद विचारधाराबाटै अगाडि बढेका छौँ । त्यसैले समय सापेक्ष पार्टीका नाम परिवर्तन हुन सक्छ’, रातोपाटीसँग उनले भने ।

हरेक निर्वाचनमा धक्का लागेको पृष्ठभूमिमा प्रचण्डले कात्तिक १९ गते नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत विभिन्न ८ घटकसँग एकीकरण गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए । एकता घोषणाअघि कात्तिक १६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घटकहरूबिच १८ बुँदे सहमति भएको थियो । उक्त सहमतिको पहिलो बुँदामा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने उल्लेख छ ।

वामपन्थीबिच भएको एकता केन्द्रीय समिति बैठकको निर्णय विपरीत भएको भन्दै जनार्दन शर्मा, राम कार्की, सुदन किराती लगायत नेताहरूले पार्टी एकताबाट बाहिरिएका थिए । पार्टीभित्रै अन्तरविरोध उत्कर्षमा पुगेको बेला मंसिरमा विशेष महाधिवेशन घोषणा गरेको र विशेष महाधिवेशन छल्न हतारमा पार्टी एकता गरेको उनीहरूको आरोप थियो ।

पार्टी एकता भदौमा भएको जेनजी आन्दोलनको भावना विपरीत रहेको निष्कर्ष निकाल्दै शर्माले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएका सन्तोष परियार समूहसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बनाएका थिए । 

प्रचण्डको विगतका पृष्ठभूमि र कार्यशैली हेर्दा पार्टी गठन र विघटनलाई स्वाभाविक मान्न सकिन्छ । उनले पार्टी गठन र विघटनलाई निरन्तरतामा क्रम भङ्गताको रूपमा व्याख्या गर्ने गरेका छन् ।

प्रचण्डले विगतमा यस्ता धेरै अभ्यास गर्दै आएका छन् । २०२८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका प्रचण्ड २०३१ सालमा मोहन विक्रम सिंह नेतृत्वको नेकपा (चौथो महाधिवेशन) हुँदै २०४५ सालमा नेकपा (मसाल)को महामन्त्री बन्न सफल भएका थिए । उनी नेतृत्वमा आएसँगै २०४७ सालमा विभिन्न वामपन्थी घटकसँग मिलेर नेकपा (एकता केन्द्र) गठन गरे ।

२०५१ सालमा पार्टी विभाजन भएपछि नेकपा (माओवादी) पुनर्गठन गरी प्रचण्डले जनयुद्धको नेतृत्व गरे । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा २२० सिट जितेर माओवादी पहिलो दल बन्यो । २०६५ सालमा प्रचण्डले नेकपा एकता केन्द्र मसालसँग पार्टी एकीकरण गरी नेकपा एकीकृत माओवादी गठन गरेका थिए ।

२०६९ सालमा पार्टी विभाजन भएपछि उनले २०७४ सालमा विभिन्न वामपन्थी घटकसँग मिलेर नेकपा माओवादी केन्द्र बनाएका थिए । २०७४ सालमा सबैभन्दा ठुलो वामपन्थी दल नेकपा एमालेसँग मिलेर पार्टी एकताको शर्तसहित चुनावी तालमेल गर्ने सहमति भयो । निर्वाचनमा दुई तिहाइ नजिक बहुमत आयो ।

पूर्वसहमति अनुसार २०७५ साल जेठ ३ गते पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो । त्यतिबेला प्रचण्डले माओवाद विचारधारा छाडेर पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद मान्ने सहमति गरेका थिए । तर पार्टी एकता तीन वर्ष पनि टिकेन । २०७७ साल फागुन २३ गते पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपा विघटन ग¥यो । सर्वोच्चको आदेशसँगै प्रचण्डले साविक नेकपा माओवादी केन्द्रलाई नै पुनर्गठन गरे ।

०६९ सालको निर्वाचनमा कांग्रेस, एकीकृत समाजवादीसँग गठबन्धन गरेर जाँदासमेत माओवादीले अपेक्षकृत नतिजा निकाल्न सकेन । २०७४ सालको निर्वाचनमा १३ लाख तीन हजार मतसहित ५३ सिट जितेको माओवादी २०७९ को निर्वाचनमा ११ लाख ७५ मत ल्याएर ३२ सिटमा खुम्चियो । जेनजी विद्रोहपछि विशेष परिस्थितिमा फागुन २१ मा भएको निर्वाचनमा प्रचण्डले थप १७ वटा वामपन्थी घटकसँग एकता गरी निर्वाचनमा भाग लिए ।

तर नयाँ दल रास्वपाको देशव्यापी लहरकाबिच नेपाली कम्युनिस्ट पार्टीले अपेक्षकृत जित निकाल्न सकेन । पार्टीका शीर्ष नेताहरू चुनावी सुनामीमा बढारिँदा प्रचण्ड जनयुद्धको आधार क्षेत्र रुकुम पूर्वबाट विजयी भए ।

अघिल्लो निर्वाचनमा २० सिट जितेर चौथो शक्ति बनेको रास्वपाले योपटक दुई तिहाइ नजिक अर्थात् १८२ सिट जितेर अभूतपूर्व विजय हासिल गर्‍यो । नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ९ गरी जम्मा १७ सिटमा जित निकाल्न सक्यो ।

समानुपातिक मततर्फ अघिल्लो निर्वाचनमा साविक माओवादीले पाएको मतको तुलनामा तीन लाख ६४ हजार मत गुमाएर नेकपा आठ लाख ११ हजारमा खुम्चियो । प्रचण्डले पार्टी र विचार धारा छोडेपछि उनकै उत्तराधिकारी नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी पुनर्गठन गरी नेकपा माओवादी नामबाट चुनावमा पार्टीलाई होमे । तर विप्लवको पार्टीले निर्वाचनमा २५ हजार मत पनि कटाउन सकेन । नेपाली कम्युनिस्ट पार्टी मात्र नभएर नेपालको इतिहासमै यसपालिको निर्वाचनमा वामपन्थी शक्ति कमजोर भएका छन् । एक करोड आठ लाख ३५ हजार २७ सदर मतमध्ये निर्वाचनमा भाग लिएका सम्पूर्ण वामपन्थी शक्तिले पाएको कुल मत २३ लाख ७८ हजार छ । समग्रमा वामपन्थीले पाएको मत २१.५० प्रतिशत हो ।

नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडा कम्युनिस्ट सिद्धान्त, विचार र आदर्शको चीरहरण हुँदा वामपन्थी आन्दोलनले ठुलो धक्का खाएको बताउँछन् ।

‘कम्युनिस्ट पार्टीको मूल्य, मान्यता, सिद्धान्त, आदर्श र विचारबाट हामी चल्न सकेनौँ । एक हिसाबले अदर्श र सिद्धान्तको चीरहरण भयो । त्यसैको परिणाम कम्युनिस्ट आन्दोलनले ठुलो धक्का खायो’, उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार