२६ चैत, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी)अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाएका छन् ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग बिहीबार आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख अर्यालले आयोजनाको निर्माण कार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।’
सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए । स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्न उनले आग्रह गरे ।
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले पनि आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
धादिङका सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राखे ।
बूढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ । आयोजनाको अनुमानित लागत ३ खर्ब ७४ अर्ब रुपैयाँबराबर छ ।




प्रतिक्रिया दिनुहोस्