काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले रास्वपाका सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अपराधी करार गरेकोप्रति आपत्ति जनाउँदै बरालले रेकर्डबाट हटाउन माग गरेका हुन् । सभामुख डीपी अर्यालले सांसदको नाम आफूहरू नै हेर्ने बताएपछि उनले सांसदको नाम लिएनन् ।
“उहाँले हाम्रा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेर अपराधिको संज्ञा दर्ज गर्नुभयो,” बरालले भने, “यहाँ अपराधी करार गर्ने यो संसद होइन । अपराधी त न्यायलयले करार गर्छ ।”
उनले प्रतिनिधिसभामा झाँक्रीको कुरा गरेर दलका नेता रामबहादुर थापा बादललाई समेत अपमान गरेको भन्दै आपत्ति जनाए । “यस खालको शब्दहरू प्रतिनिधिसभाको रेकर्डबाट अभिलम्ब हटाइयोस्,” उनले भने, “त्यो शब्दावली आपत्तिजनक छ । फिर्ता गरियोस् ।”
आजको बैठकको शून्य समयमा यादवले एमाले अध्यक्ष ओलीलाई अपराधीको संज्ञा दिएका थिए । बरालको नियमापत्तिपछि सभामुख अर्यालले ध्यानाकर्षण भएको बताए । र, सदनको कार्यसूची अघि बढाए ।




प्रतिक्रिया दिनुहोस्