मध्य–पश्चिममा सृजित असहज परिस्थितिका कारण स्थगित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको आगामी शृंखला अप्रिल चौथो साता नेपालमा शुरू हुने भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने उक्त शृंखलामा नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानको सहभागिता रहने छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शृंखलाको पहिलो खेल नेपाल र यूएईबीच अप्रिल २५ तारिखमा खेलिने छ । शृंखलाको दोस्रो खेल अप्रिल २७ तारिखमा ओमान र यूएईबीच हुनेछ ।
यो शृंखला यसअघि नै आयोजना हुने तय भए पनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेपछि शृजित असहज अवस्थाका कारण शृंखला स्थगित भएको थियो ।
लिग २ प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ ।
यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।
यसका अतिरिक्त, आईसीसीबाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।




प्रतिक्रिया दिनुहोस्