पश्चिमबाट सुरु भएको वर्षा वाग्मती आइपुग्यो, देशभर मध्यमदेखि भारी वर्षा हुने

देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । वाग्मतीदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । 

तुलनात्मक रूपमा सुदूरपश्चिम प्रदेशमा बिहान धेरै वर्षा भएको छ । डडेलधुरामा सबैभन्दा धेरै वर्षा भएको छ । बिहान १० बजेसम्म पछिल्लो ६ घण्टामा डडेलधुरामा १०.२ मिलिमिटर वर्षा भएको छ । 

“अन्य प्रदेश र स्थानमा पनि वर्षा भइरहेको छ । तर, १० मिलिमिटरभन्दा कम छ,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले बाह्रखरीसित भने, “तुलनात्मक रुपमा पश्चिममा धेरै वर्षा भइरहेको छ ।” 

आज केही स्थानमा भारी वर्षा भए पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ । तर, वर्षा भने देशका धेरै स्थानमा हुने पूर्वानुमान रहेको उनी बताउँछन् । 

मौसमविद् लामिछानेका अनुसार, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी  र वाग्मती प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा, मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको उनले जानकारी दिए । 

“काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन,” मौसमविद् लामिछानेले भने, “अपराह्न र साँझपख काठमाडौंमा वर्षा हुनेछ । काठमाडौंमा सबै ठाउँमा समान वर्षा हुँदैन । कतै हल्का र कतै मध्यम वर्षा हुनेछ ।” 

आज राति पनि वर्षाको सम्भावना छ । राति भने वर्षा क्रमशः पूर्वतर्फ सर्दै जाने उनको भनाइ छ । कोसी, मधेस, वाग्मती प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

“हवाहुरीको पनि सम्भावना छ । तर, ठूलो होइन,” मौसमविद् लामिछाने अगाडि थप्छन्, “प्रि–मनसुनको समयमा अपराह्न र साँझको समयमा हावाहुरी र मेघगर्जन हुुनु सामान्य हो । त्यसैले यो सम्भावना आजलाई पनि छ ।” 

भोलि बिहानबाट पानी पर्ने क्रम केही कम हुने उनले प्रस्ट पारे । “बिहीबार बिहानबाट नै पानी पर्ने क्रम कम हुन्छ । दिउँसोबाट त धेरै ठाउँमा मौसम सफा हुन थाल्छ,” उनी अगाडि थप्छन्, “पश्चिम नेपालमा बिहानबाट मौसम सफा हुन सुरु हुन्छ । कोसी प्रदेश र हिमाली भूभागमा भने भोलि दिउँसो पनि केही वर्षाको सम्भावना छ ।” 

शुक्रबारबाट भने मौसम सुधार हुने मौसमविद् लामिछानेको भनाइ छ । 

जलवायुविज्ञ धर्मराज उप्रेती पश्चिमी वायुको प्रभाव आज देशभरि नै देखिने सम्भावना रहेको बताउँछन् । “आज हल्कादेखि मध्यम वर्षा हुनेछ । असिनापानी पर्ने सम्भावना छ,” उप्रेती सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “सुदूरपश्चिम प्रदेशका पहाडी भूभागलगायत केही ठाउँमा भारी वर्षाको समेत सम्भावना छ ।”  

मौसमविद् विनोद पोखरेल आज दिनभर र भोलिसम्म वर्षा हुने बताउँछन् । “आज राम्रै चिसो हुनेछ । देशभर भोलिसम्म वर्षा हुने देखिन्छ,” मौसमविद् पोखरेल फेसबुकमा लेख्छन्, “साँझ र राति मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।” 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण वर्षाको सम्भावना रहेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार