सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिने हो : अञ्जन श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकार आफैँले उद्योग चलाउनुभन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र प्रोत्साहन दिनुपर्ने बताएका छन् । 

तयारी पोसाक निर्यातकर्ता संघ नेपालले आयोजना गरेको ‘एलडिसी ग्र्याजुएसनपछि तयारी पोसाकको निर्यात प्रवर्द्धन : चुनौती र अवसर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको ७० प्रतिशत उपभोग आयातमा निर्भर रहेको तथ्यलाई चुनौती नभई ठूलो अवसरका रूपमा लिनुपर्ने बताए । कुनै समय एक हजार २५० को हाराहारीमा रहेका गार्मेन्ट उद्योगहरू अहिले घटेर १०० मा खुम्चिएकोप्रति चिन्ता व्यक्त गरे । 

श्रेष्ठले यस क्षेत्रको विकासका लागि एकीकृत सोच आवश्यक रहेको औँल्याए । उनले ‘फार्म टु फरेन’सम्मको यात्रालाई जोड्न पाँच ‘एफ’को अवधारणा अघि सारे । जसमा फार्म, फाइबर, फेब्रिक, फेसन र फरेनलाई समेटेर अगाडि बढ्नुपर्ने उनको तर्क छ । 

यसका लागि सशक्त ‘गार्मेन्ट काउन्सिल’ वा विभागको आवश्यकता रहेको उनले बताए । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी गरिरहेको सन्दर्भमा श्रेष्ठले आपत्ति जनाए । सरकारले आफैँ उद्योग चलाउनुको सट्टा निजी क्षेत्रलाई सहुलियत दिएर उत्पादन लागत घटाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ । 

“सरकारले उद्योग व्यवसाय गर्ने होइन । दुग्ध विकास संस्थान (डीडीसी) र शाही औषधि लिमिटेड जस्ता संस्थानहरूलाई ट्याक्सपेयरको पैसाबाट अनुदान दिएर पाल्नु र निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउनु गलत हो,” उनले भने । 

प्रविधिको विकास र एआईका कारण रोजगारी घट्न सक्ने चर्चा चलिरहँदा नेपालको घट्दो जन्मदर र युवा पलायनले भविष्यमा ठुलो जनशक्ति अभाव हुन सक्नेतर्फ पनि श्रेष्ठले सचेत गराए । 

अल्पविकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुँदा नेपाली निर्यातले पाउँदै आएको सहुलियत गुम्ने जोखिम रहेकाले यसलाई कम्तीमा तीन वर्षपछि सार्न महासंघले सरकारसँग लबिङ गरिरहेको उनको भनाइ छ । 

अर्थमन्त्रीसँगको छलफल सकारात्मक रहेको र सरकारले यसमा लचिलो हुने आश्वासन दिएको पनि श्रेष्ठले बताए । साथै, निर्यात व्यवसायीहरूलाई सरकारले दिने भनिएको इन्सेन्टिभ (नगद प्रोत्साहन) समयमै उपलब्ध गराएर राज्यको विश्वास कायम राख्नुपर्नेमा उनले जोड दिए ।

आगामी चैत ३० गते हुने महासंघको निर्वाचनपछि नेतृत्व सम्हाल्न लागेका ‘वेटिङ प्रेसिडेन्ट’ श्रेष्ठले निजी क्षेत्रलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार