पदभार सम्हाल्दै राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले उठाइन् साइबर बुलिङविरुद्ध कडा कानुनको माग

काठमाडौँ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छन्। शपथग्रहणलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले आफ्नो कार्यभार सम्हालेकी हुन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जालमार्फत महिलामाथि हुने चरित्रहत्या (साइबर बुलिङ) विरुद्ध कडा कानुनी व्यवस्थाको आवश्यकता औँल्याइन्।

भण्डारीले महिलाको मानप्रतिष्ठा र सामाजिक आचरणमा असर पर्ने गरी चरित्रहत्या गर्ने आपराधिक गतिविधि समाजमा मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरिन्। सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेको साइबर हमलाले विकराल रूप लिँदै गएको भन्दै उनले यसलाई नियन्त्रण गर्न सरकार र सरोकारवालाहरूबीच समन्वय गरी तत्काल कानुनी हस्तक्षेप गर्नुपर्नेमा जोड दिइन्। 

साइबर अपराधको सिकार भएकै कारण सांसदहरू नै न्याय खोज्दै प्रहरीको साइबर ब्युरोसम्म पुग्नुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद भएको उनको भनाइ थियो। सभ्य र मर्यादित समाज निर्माणका लागि साइबर अपराध नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्ने उनले बताइन्।

‘गला रेट्नु मात्रै अपराध होइन। मान्छेलाई समाजमा बाँच्नै नसक्ने गरी जसरी नकारात्मक रूपमा प्रयोग भइरहेको छ, विशेषगरी महिलाहरूको मान, प्रतिष्ठा र सामाजिक आचरणमा प्रभाव पर्ने गरी चरित्रहत्या गर्ने गरिएको छ,’ पदभार ग्रहण गर्दै उनले भनिन्, ‘महिलाको जीवन सिध्याउनुपर्ने छ भने उसको चरित्र हत्या गरिदिएपछि हुन्छ भनेर जसरी साइबर बुलिङहरू भइरहेका छन्, अब यसलाई कानुनी माध्यमबाट रोक्नुपर्छ।’

उनले हेर्न र पढ्नै नमिल्ने शब्दहरू प्रयोग गरेर महिलाको चरित्रमाथि प्रहार गर्ने आपराधिक क्रियाकलाप बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले छिट्टै कदम चाल्ने विश्वास समेत व्यक्त गरिन्। समाजलाई सभ्य बनाउने हो भने कानुनमार्फत यस्तो विकृतिको अन्त्य गर्नुपर्ने र यस विषयमा संसद् भित्र र बाहिर पनि चर्को रूपमा आवाज उठिरहेको उनले स्मरण गराइन्।

यसका साथै, नवनिर्वाचित उपाध्यक्ष भण्डारीले आफ्नो पदको जिम्मेवारी कुनै आग्रह वा पूर्वाग्रहबिना निष्पक्ष रूपमा निर्वाह गर्ने बताएकी छन्। उनले राष्ट्रिय सभा र समग्र संसदीय गरिमालाई उँचो राख्दै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार