पश्चिम एसियामा कार्यरत नेपालीलाई कम्पनीले भन्न थाले, ‘आफ्नै देश फर्क’ !

पश्चिम एसियामा चर्कदो युद्धसँगै कम्पनीहरूले कामदारहरूलाई ‘आफ्नै देश फर्क’ भन्न थालेका छन् ।

पश्चिम एसियामा ठूलो संख्यामा नेपाली कार्यरत छन् । परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियाली राष्ट्रमा १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत छन् ।

युद्ध नरोकिँदा त्यहाँको आतिथ्य, सेवा र निर्माण क्षेत्रमा कार्यरत नेपालीले रोजगारी गुमाउने खतरा बढ्दै गएको छ । युद्ध छिट्टै नरोकिए पश्चिम एसियामा काम गरिरहेका ठूलो संख्यामा नेपालीले रोजगारी गुमाउने निश्चित छ । यसले नेपालको अर्थतन्त्रमा मात्र होइन, आन्तरिक राजनीतिमा पनि असर गर्ने देखिन्छ ।

युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित नेपाली महावाणिज्य दूतावासका लागि नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीले बाह्रखरीसँग भने, “रोजगारदाता कम्पनीले ‘अब घर जाऔं’ भन्न थाले भन्दै केही नेपालीहरू आउन थाल्नुभएको छ । खासगरी यसरी आउनेमा होटल, रेस्टुरेन्ट र साना कम्पनीमा कार्यरतहरू हुनुहुन्छ ।” 

उनका अनुसार, कामदारलाई लामो समय काम नगराई राख्नुपरेका कारण कम्पनीले फर्कन भनेको बुझिएको छ ।

पश्चिम एसियाली राष्ट्रहरू युएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराकलगायतका देशका आतिथ्य, सेवा र निर्माण क्षेत्रमा कार्यरत नेपालीलाई समस्या हुन थालेको संकेत परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले गत शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गरेका थिए ।

रोजगारी गुमाउने क्रम बढ्ने संकेत 

प्रवक्ता क्षेत्रीले भनेका थिए, “पश्चिम एसिया क्षेत्रमा रहेका नेपालीहरूको तत्काल व्यापक संख्यामा रोजगारी गुम्ने जोखिम नदेखिए पनि हस्पिटालिटी, निर्माणलगायतका क्षेत्रमा केही असर पर्ने सम्भावना रहेको छ । यस सम्बन्धमा आवश्यक पहल र समन्वय जारी राखेका छौँ ।”

युएईमा लगभग ७ लाख, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार, इजरायलमा करिब ६ हजार ५००, लेबनानमा १ हजार ५००, इजिप्टमा ५०० र इरानमा १० जना नेपाली रहेको परराष्ट्रको तथ्याङ्कले देखाउँछ ।

अमेरिका–इजरायलले गत फागुन १६ गते अचानक इरानमाथि आक्रमण गरेका थिए । त्यसपछि इरानले इजरायलमाथि प्रत्याक्रमण सुरु गरेको थियो ।

इरानले पश्चिम एसियाली राष्ट्र युएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य बेस र अमेरिकी लगानीका कम्पनीमा आक्रमण गर्दै आइरहेको छ ।

हालसम्म इरानले गरेको आक्रमणमा परी २८ जना नेपाली घाइते र एक जनाको मृत्यु भएको छ ।

युद्ध लम्बिँदा आतिथ्य, सेवा र निर्माण क्षेत्रमा कार्यरत नेपालीहरू समस्यामा पर्न थालेका छन् । उनीहरूलाई रोजगारदाता कम्पनीहरूले तलब दिन सक्ने अवस्था नरहेको जनाउँदै आफ्नो देश फर्कन अनुरोध गर्न थालेका छन् ।
हाललाई यो संख्या सानो छ, तर अझै युद्ध लम्बिए यो संख्या ह्वात्तै बढ्ने आकलन पश्चिम एसियाली राष्ट्रमा रहेका नेपाली नियोगहरूको छ ।

युएईमा सबैभन्दा ठूलो प्रभाव

नेपालीहरूको सबैभन्दा ठूलो संख्या युएईमा छ । युएईमा लगभग सात लाख नेपाली कार्यरत छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धबाट सबैभन्दा बढी प्रभावित देशमा युएई पर्छ ।

“केही कम्पनीहरूमा तलब दिन नसक्ने समस्या देखिएको छ । यस्ता कम्पनीहरूले ‘अब यहाँ काम छैन’, हवाई टिकट काटिदिन्छौं, घर जाऊ भनेका रहेछन् । बेतलबी बिदामा जान कम्पनीले अनुरोध गरेका छन् । नेपालीहरूको गुनासो सुनेर हामीले यस्ता कम्पनीहरूसँग कुरा गरिरहेका छौं,” महावाणिज्यदूत ओडारीले भने ।

बहराइनमा पनि यस्तै समस्या देखिन थालेका छन् । बहराइनको होटल, रेस्टुरेन्ट र संवेदनशील क्षेत्रमा रहेका कम्पनीमा कार्यरत नेपालीहरू अप्ठेरोमा परेको गुनासो आउन थालेको छ, जुन यतिखेर सानो छ ।

“यस्तो संख्या ठूलो छैन, तर समस्या लिएर आउन थालेका छन् । यहाँ खासगरी होटल, रेस्टुरेन्ट र संवेदनशील क्षेत्रमा कार्यरत नेपालीलाई अप्ठेरो परेको छ । कम्पनीका मालिकहरूले ‘यहाँ काम छैन, जान्छौं भने आफ्नो देश जाऊ’ भन्न थालेका रहेछन्,” बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले बाह्रखरीसँग भने ।

घर फर्किन पनि सहज छैन
बहराइनको विमानस्थल बन्द छ, जसका कारण घर फर्किन चाहने नेपालीलाई सहज पनि छैन । यदि बहराइनका नेपाली स्वदेश फर्कन चाहेमा उनीहरू साउदी अरेबिया हुँदै फर्कनुपर्ने हुन्छ । यसका लागि साउदीको भिसा लगाउनेदेखि हवाई टिकट महँगो पर्न जान्छ ।

“केही नेपाली दाजुभाइहरू दोधारमा हुनुहुन्छ । यतै बसौं, युद्ध कति लम्बिने हो थाहा छैन । नेपाल फर्कौं, तुरुन्तै युद्ध अन्त्य भए के गर्ने ? यहाँ काम नगरी कति बस्ने,” राजदूत वाग्लेले भने ।

कतार र कुवेतमा पनि यस्तै समस्या देखिएको छ । आतिथ्य, सेवा र निर्माण क्षेत्रमा कार्यरत केही नेपालीहरू रोजगारी गुमाउने अवस्थामा पुगेको भन्दै दूतावासको ढोका ढक्ढकाउन पुगेका छन् ।

“यस्तो संख्या धेरै ठूलो छैन । तर यो युद्ध केही दिन लम्बिए संख्या निकै बढ्छ, सम्हाल्न कठिन हुन्छ,” कतारस्थित नेपाली दूतावास स्रोतले भन्यो ।

ओमानमा भने असर न्यून

पश्चिम एसियाली राष्ट्र ओमानमा भने यस्तो समस्या देखिएको छैन । पश्चिम एसियामा चलिरहेको युद्धबाट त्यहाँ रहेका अन्य देशको तुलनामा ओमान सबैभन्दा कम प्रभावितमा पर्छ ।

“रोजगारी अप्ठेरोमा पर्यो भनेर कोही आउनु भएको छैन,” ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले बाह्रखरीसँग भने ।

पश्चिम एसियामा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपाली समस्यामा परेपछि सरकारले पश्चिम एसियामा विकसित परिस्थितिका कारण नेपालमा पर्न सक्ने प्रभावहरूको समयमै मूल्यांकन र व्यवस्थापन गर्न उच्चस्तरीय अन्तर–मन्त्रालय अध्ययन कार्यदल गठन गरेको छ ।

परराष्ट्रमन्त्री शिखिर खनालको संयोजकत्वमा गठित कार्यदलमा परराष्ट्र सचिव, अर्थ सचिव, उद्योग सचिव, श्रम सचिव, ऊर्जा सचिव, पर्यटन सचिव, गृहसचिव सदस्य छन् ।

कार्यदलले सात दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत तथा कार्यक्रमगत उपायहरूसहित प्रतिवेदन पेश गर्नेछ ।

प्रतिवेदनमा पश्चिम एसियाको वर्तमान अवस्थाको समग्र अध्ययन गरी यसबाट नेपालको आर्थिक, सामाजिक, खासगरी कृषि, उद्योग, पर्यटन, ऊर्जा, लगानी, रेमिट्यान्स, इन्धन आदि क्षेत्रमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावहरू समेटिनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार