धनगढी शहीद दशरथ चन्द विश्वविद्यालयमा पहिलोपटक सभा, एमबिबिएस तयारी

धनगढीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चैत २५ गते महत्वपूर्ण सभा बस्ने तय भएको छ। यसअघि दुई पटक संघीय राजधानीमा आयोजना गरिएको बैठक यसपटक भने पहिलो पटक विश्वविद्यालयकै परिसरमा हुने भएको हो। उक्त सभामा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियमावली र कार्यविधि पारित गर्ने तयारी भइरहेको छ।

सभाको अध्यक्षता शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्ने कार्यक्रम छ। यद्यपि, आगामी शैक्षिक सत्रदेखि एमबिबिएससहित चिकित्सा शिक्षा सुरु गर्ने योजना बनाइए पनि त्यसको सुनिश्चितता अझै स्पष्ट नभएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

विश्वविद्यालय स्थापना अभियानमा सक्रिय समन्वय समितिले एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ। आइतबार बसेको बैठकले चैत २५ को सभामा स्थानीय मुद्दाहरू उठाउने, विश्वविद्यालय परिसरमा शहीद दशरथ चन्दको सालिकसहित पार्क निर्माणको माग गर्ने लगायतका निर्णयहरू गरेको छ।

समितिका संयोजक लोकराज पाण्डेका अनुसार बैठकमा स्थानीय सरोकारका विषय प्रभावकारी रूपमा उठाउने तयारी गरिएको छ। साथै, विश्वविद्यालय सञ्चालनमा सहकार्य र समन्वय कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको उनले बताए। पार्क निर्माणको जिम्मेवारी समितिले नै लिन सक्ने गरी पहल अघि बढाइएको जानकारी पनि उनले दिए।

आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न आवश्यक बजेट सुनिश्चित गराउन दबाब दिने योजना पनि समितिले बनाएको छ। विश्वविद्यालय सञ्चालनका लागि प्रस्तावित २ अर्ब ५८ करोड रुपैयाँ जुटाउनेतर्फ पनि पहल गरिने बताइएको छ।

विश्वविद्यालय ऐन २०८२ पारित भइसकेपछि उपकुलपति, रजिस्ट्रार लगायत पदाधिकारी नियुक्त भइसकेका छन्। उनीहरूले आगामी शैक्षिक सत्रदेखि चार विषयमा अध्यापन सुरु गर्ने लक्ष्य लिएका छन्। तर, कानुनी व्यवस्था अनुसार कम्तीमा ३०० शय्या भएको अस्पताल तीन वर्ष सञ्चालनमा हुनुपर्ने भएकाले सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताललाई आबद्ध गर्ने तयारी भइरहेको छ।

यसैबीच, शैक्षिक कार्यक्रम सञ्चालनका लागि ७७ शिक्षक पदमा आवेदन माग गरिएकामा ३०४ जनाले दरखास्त दिएका छन्। छनोट प्रक्रिया वैशाख महिनादेखि सुरु हुने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार