दाङ — दाङको गढवा गाउँपालिका–२ महदेवाका खुसीराम चौधरी २२ वर्षअघि कुवेत गएका थिए । वैदेशिक रोजगारीमा गएका खुसीराम कुवेतमै रमाए । १४ वर्ष अघिसँगै काम गर्ने फिलिपिन्सकी मित्सी समसोनसँग विवाह गरे । त्यसपछि उनको कुवेत बसाइँ लम्बियो ।
बेलाबेला उनी नेपाल आउने जाने गर्थे । पछिल्लो पटक दुई वर्षअघि आएर गएका थिए । यसपाली चैतमै आउने योजना थियो । उनीछिट्टै नेपालमै बस्ने गरी आउने योजना सुनाउँथे । फागुन ३० गते खाना खाएर सुतेका खुसीराम बिहान उठ्न सकेनन् । हृृदयघातका कारण ५१ वर्षीय खुसीरामको ज्यान गयो ।
खुसीरामकी १२ वर्षीया छोरी किमले बुवाको मृत्युको खबर दाङमा रहेका आफन्तलाई सुनाइन् । भैरहवा विमानस्थल हुँदै घर फर्कने इच्छा बोकेका खुसीराम भैरहवा विमानस्थलबाटै घरसम्म त पुगे तर जिवित होइन बाकसमा । ‘मामाको भैरहवा विमानस्थलबाट घर आउने चाहना पूरा हुन पाएन, अन्तिममा बाकसमा मात्रै आउनुभयो,’ खुसीरामका भान्जा हेमनारायण चाैधरीले भने ।
एक्कासी चार्टर जहाजमा शव नेपाल पठाउने भएपछि श्रीमती र छोराछोरी सँगै नेपाल आउन पाएनन् । खुसीरामकी श्रीमती मित्सी, १२ वर्षीया छोरी किम र दुई वर्षीय छोरा केभिन कुवेतमै छन् । उनीहरु तकात आउनसक्ने अवस्था छैन ।




प्रतिक्रिया दिनुहोस्