कालु गुरुङका दुई कम्पनीले गरे ७९ करोड रुपैयाँको व्यापार, साढे २ अर्ब रुपैयाँ ऋण लिँदै

काठमाडौं । घरजग्गा व्यवसायी कालु गुरुङका दुई कम्पनीले पौने १ अर्ब रुपैयाँको कारोबार गरेका छन् । गुरुङका रोडशो इन्भेष्टमेन्ट कम्पनी र रोडशो रियल इस्टेट कम्पनीले गत आर्थिक वर्षमा ७९ करोड १० लाख रुपैयाँको कारोबार गरेका हुन् ।

गत आवमा रोडशो इन्भेष्टमेन्ट कम्पनीले ४७ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ भने अर्को रोडशो रियल इस्टेटले ३१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ ।

यी दुई कम्पनीले घरजग्गा प्लटिङका साथै हाउजिङ र अपार्टमेन्ट निर्माण गरी कारोबार गर्दै आएका छन् । जसमा रोडशो इन्भेष्टमेन्टले सन् २०२४ मा १८ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा ६ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २००४ मा स्थापना भएको कम्पनीले रियल इस्टेटको कारोबार गर्दै आएको छ ।

गुरुङको शतप्रतिशत स्वामित्व रहेको कम्पनीले घरजग्गा प्लटिङ र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले पोखरामा दुईवटा अपार्टमेन्ट निर्माण गरेको छ ।

गत आवमा कम्पनीको कारोबार बढेको जनाइएको छ । साथै, कम्पनीको कर्जा पनि बढेको छ । सन् २०२४ मा ८२ करोड ७० लाख रुपैयाँ कर्जा रहेकोमा सन् २०२५ को जुलाईसम्ममा ९१ करोड रुपैयाँ पुगेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले हालै मात्र दुईवटा अपार्टमेन्टको निर्माण कार्य सम्पन्न गरेको छ ।

कम्पनीले अन्नपूर्ण अपार्टमेन्ट–मासबारमा ४० युनिट र अन्नपूर्ण–लेकसाइड सेदीमा ६० युनिटका अपार्टमेन्टको निर्माण कार्य सम्पन्न गरेको हो । कम्पनीले उक्त दुईवटा अपार्टमेन्ट १ लाख ३२ हजार ३ सय ५५ स्क्वायर फिटमा निर्माण गरेको छ, जसमा कम्पनीले २० करोड ८० लाख रुपैयाँको जग्गा अधिग्रहण गरेको उल्लेख छ ।

कम्पनीले दुईवटा अपार्टमेन्ट १ अर्ब ५४ करोड ५० लाख रुपैयाँमा निर्माण गरेको जनाएको छ । कम्पनीले अपार्टमेन्ट निर्माणका लागि ग्राहकबाट आएको अग्रिम भुक्तानी रकम ८९ करोड ७० लाख रुपैयाँ र बैंकबाट ६४ करोड ८० लाख रुपैयाँ कर्जा लिई लगानी गरेको जनाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५५ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७१ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको हो ।

त्यसैगरी, सन् १९९७ मा स्थापना भएको रोडशो रियल इस्टेट कम्पनीले सन् २०२४ मा ३४ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा १३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । पोखरामा दर्ता भएको उक्त कम्पनीमा गुरुङको ६७ प्रतिशत स्वामित्व छ । कम्पनीले हाउजिङ, अपार्टमेन्ट र जग्गा प्लटिङ गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीसँग हाल ३ करोड ९७ लाख रुपैयाँ बुक भ्यालु भएको जमिन उपलब्ध छ र बिक्रीका लागि तयार रहेका तीनवटा अपार्टमेन्ट परियोजनाहरू छन् । उक्त तीनवटा अपार्टमेन्टको कुल लागत १ अर्ब ३३ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले सन् २०२५ को जुलाईसम्ममा अपार्टमेन्ट बुकिङको अग्रिम भुक्तानीबापत १ अर्ब ५ करोड २० लाख रुपैयाँ प्राप्त गरिसकेको छ । कम्पनीले सोहीअनुसार आगामी वर्षहरूमा आफ्नो आम्दानीको आधार सुधार हुने अपेक्षा गरेको छ ।

कम्पनीले विशेष गरी काठमाडौं र पोखरामा अपार्टमेन्ट र हाउजिङ निर्माण गर्दै आएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब १४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ११ करोड ३६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड ९७ लाख रुपैयाँको रेटिङ गराएको हो ।

रेटिङ एजेन्सी इक्राका अनुसार रोडशो रियलस्टेटको नाफा मार्जिन ११.५५ प्रतिशत छ भने रोडशो इन्भेस्टमेन्टको १९.५३ प्रतिशत छ । दुबै कम्पनीको सञ्चालन नाफा बढेको हो । गत आव रोडशो रियलस्टेटको नाफा मार्जिन ७.०५ प्रतिशत थियो भने रोडशो इन्भेस्टमेन्टको ७.९४ प्रतिशत थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार