धनगढीमा एक व्यवसायीमाथि भएको कुटपिटको घटना सार्वजनिक भएको छ। चैत १६ गते सोमबार राति करिब १:३५ बजे धनगढी–४ दक्षिणकाली मार्गस्थित ६ लेन सडक नजिकै व्यवसायी विकास सिङ्घलमाथि आक्रमण भएको हो।
परिवारका अनुसार, पारिवारिक भेटघाटपछि घर फर्किएका सिङ्घललाई आफ्नै घरअगाडिको पार्किङ क्षेत्रमा चार जना युवाले अचानक आक्रमण गरेका थिए। श्रीमती डा. अनिसा अग्रवाल र पाँच वर्षीया छोरीकै अगाडि भएको उक्त घटनामा सिङ्घल गम्भीर घाइते भएका छन्। उनको करङ, नाकको डाँडी भाँचिएको, टाउको फुटेको तथा अनुहार र दाँतमा चोट लागेको बताइएको छ। हाल उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे सिङ्घलकी पत्नी अग्रवालले जानकारी दिँदै, पार्किङमा राखिएको गाडी हटाउन चालकलाई बोलाउँदा सडक पारि हिँडिरहेका युवाहरू आएर कुटपिट सुरु गरेको बताइन्। उनका अनुसार ती युवाहरूले तीनपटकसम्म फर्केर आक्रमण दोहोर्याएका थिए।
घटनापछि अग्रवालले कैलाली प्रहरीमा निवेदन दिएकी छन्। प्रहरीका अनुसार, संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको भए पनि पीडित पक्षबाट किटानी जाहेरी नआएकाले हाजिरी जमानीमा रिहा गरिएको छ। किटानी जाहेरी आएपछि थप कानुनी कारबाही अघि बढाइने प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताएका छन्।
यस घटनासम्बन्धी सिसिटिभी फुटेजमा पनि चार जना युवाले सिङ्घलमाथि कुटपिट गरेको दृश्य देखिएको छ। कुटपिटपछि उनीहरू धनगढी चौराहा नजिकैको एक होटलतर्फ गएको समेत देखिन्छ।




प्रतिक्रिया दिनुहोस्