काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया सुरु हुन लाग्दा श्रम संस्कृति पार्टीले पनि आफ्नो दाबी प्रस्तुत गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख पदका लागि आफ्नो दलले महिला उम्मेदवार खडा गर्ने घोषणा गरेका हुन् ।
सभामुख निर्विरोध निर्वाचित भएकोमा बधाई दिँदै साम्पाङले अब हुने उपसभामुखको निर्वाचनमा आफ्नो पार्टीको उपस्थिति रहने प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्— “सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ, अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौँ ।”
अध्यक्ष साम्पाङले नयाँ शक्तिका रूपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दललाई सहयोग गर्नेमा विश्वास व्यक्त गर्दै नयाँ र पुरानोको बहस समेत छेडेका छन् । उनले रास्वपाको भूमिकाप्रति प्रश्न उठाउँदै लेखेका छन्— “हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई, ७ भोट आउँछ कि १८९ ?”
साम्पाङको यो घोषणासँगै उपसभामुखको निर्वाचन थप रोचक बन्ने देखिएको छ । श्रम संस्कृति पार्टीले उठाउने महिला उम्मेदवारले संसदमा रहेका अन्य साना र नयाँ दलहरूको कस्तो समर्थन पाउँछन् भन्ने चासोको विषय बनेको छ।




प्रतिक्रिया दिनुहोस्