१८ चैत, काठमाडौं । वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) ले अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित बनाउन तथा कर्मचारी अनुशासन कडा पार्न १४ बुँदे निर्णय सार्वजनिक गरेको छ ।
अस्पताल व्यवस्थापन समितिको १६ चैतमा बसेको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हाजिरी, पोसाक, बिरामीसँगको व्यवहार, औषधि उपलब्धता तथा कार्यालय अनुशासनका विषय अनिवार्य रूपमा पालन गर्ने कर्मचारीलाई निर्देशन दिएको छ ।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले व्यवस्थापनको सोमबार बसेको निर्णय कार्यान्वयनमा आइसकेको बताए । ‘सेवा प्रवाहलाई प्रभावकारी गर्न १४ बुँदे निर्णय गरेको छौं,’ शर्माले अनलाइनखबरसँग भने, ‘ यी निर्णय कार्यावन्यन आइसकेका छन् ।’
शर्माका अनुसार मन्त्रिपरिषद्ले सार्वजनिक गरेको शासकीय सुधारको मार्गचित्र अनुसार स्वास्थ्य क्षेत्रको सेवा सुधार गर्न आवश्यक निर्देशनहरू लागु गर्ने निर्णय गरिएको हो ।
निर्णयअनुसार अब चिकित्सक तथा कर्मचारीहरू समयमै अस्पतालमा उपस्थित हुनुपर्नेछ । बिना कारण अनुपस्थित हुनेलाई नियमानुसार कारबाहीको सिफारिस गरिने अस्पताल प्रशासनले जनाएको छ । बिहान साढे ९ बजेपछि कार्यालय आउने कर्मचारीलाई गयल मानिने र आधा दिन बिदा काटिने व्यवस्था गरिएको छ । ढिलो हुने अवस्थामा निर्देशकको ह्वाट्सएप समूहमा जानकारी दिनुपर्ने पनि नियम बनाइएको छ ।
यस्तै बिरामीको पुर्जा, प्रयोगशाला रिपोर्ट तथा डिस्चार्ज समरीमा चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिल (एनएमसी) नम्बर र हस्ताक्षर स्पष्ट हुनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मी, नर्स तथा चिकित्सकहरूले एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने पनि निर्णय गरिएको डा. शर्माले बताए ।
अस्पतालको सरसफाइ व्यवस्थापन सुदृढ बनाउन संगिता श्रेष्ठको संयोजकत्वमा सरसफाइ अनुगमन समिति गठन गरिएको छ भने कर्मचारीको उपस्थितिको नियमित अडिट गर्न डा. मीन चन्द्र अधिकारी को संयोजकत्वमा हाजिरी अडिट समिति बनेको छ ।
बैठकले २०८३ सालको सार्वजनिक बिदाको सूची गृह मन्त्रालयको निर्णयअनुसार कार्यकारी परिषद्मा पेश गर्ने निर्णय पनि गरेको छ । साथै आगामी वैशाख १ गतेदेखि अस्पतालको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (जाडोमा ९ देखि ४ बजे) निर्धारण गरिएको छ ।
‘ओटी, क्याथ ल्याब तथा इभिनिङ राउन्डमा खटिने स्वास्थ्यकर्मीलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरेका छौं,’ डा. शर्माले भने ।
फार्मेसी सेवामा सुधार गर्दै औषधिको मौज्दात तथा उपलब्धताबारे सेवाग्राहीलाई छिटो र स्पष्ट जानकारी दिने व्यवस्था गरिएको छ ।
‘सबै कर्मचारीको ड्युटी रोस्टर भाइबर समूहमा अद्यावधिक गर्नुपर्ने र खटाइएको स्थानमा कर्मचारी नभेटिए सम्बन्धित निकायमा रिपोर्ट गरिने निर्णय गराइएको छ,’ डा. शर्मा भन्छन् ।
अस्पताल प्रशासनले कर्मचारीहरू उच्च निकाय र सतर्कता केन्द्रको निगरानीमा रहने पनि स्पष्ट पारेको छ । कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए सम्बन्धित कर्मचारी आफैँ सजायको भागीदार हुनुपर्ने चेतावनी दिएको छ ।
अस्पताल व्यवस्थापनले सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्न सबै स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । बिरामीसँग रुखो व्यवहार तथा लापरवाही कार्यशैली पूर्ण रूपमा बन्द गर्न पनि अस्पतालले कडाइ गरेको छ ।




प्रतिक्रिया दिनुहोस्