१८ चैत, काठमाडौं । स्कुले जीवनमा वा इन्टरनेट चलाउन भर्खर सिक्दै गर्दा बनाइएका अपरिपक्व र ‘लाजमर्दा’ जिमेल ठेगानाले कतिपयलाई व्यावसायिक काममा अप्ठ्यारो पारिरहेको हुन्छ। तर, अब त्यस्ता इमेल ठेगाना प्रयोग गर्नेहरूका लागि गुगलले एउटा खुसीको खबर ल्याएको छ।गुगलको नयाँ नीतिअनुसार, अब प्रयोगकर्ताले आफ्ना पुराना इमेल, डाटा र एकाउन्ट हिस्ट्री केही पनि नगुमाइकन आफ्नो जिमेल ठेगाना परिवर्तन गर्न सक्नेछन्।
मंगलबार युट्युबमा एक भिडियो सार्वजनिक गर्दै कम्पनीले यस बहुप्रतीक्षित फिचरको औपचारिक घोषणा गरेको हो।
‘आफ्नो पुरानो जिमेल ठेगानाबाट दिक्क हुनुहुन्छ ? अब नयाँ खाता नखोलीकनै आफ्नो युजरनेम परिवर्तन गर्न सकिनेछ,’ भिडियोमा गुगलका एक प्रतिनिधिले भनेका छन्।
सन् २००४ मा जिमेल सेवा सुरु हुँदा धेरैले रमाइलोका लागि वा अपरिपक्व उमेरमा विभिन्न नाम राखेर इमेल आईडी बनाएका थिए। समयक्रमसँगै ती ठेगानाहरू व्यावसायिक प्रयोगका लागि असहज बन्दै गएका छन्। प्रयोगकर्ताको यही समस्यालाई मध्यनजर गर्दै कम्पनीले यो सुविधा ल्याएको हो।
कसरी फेर्ने इमेल ठेगाना ?
गुगलका अनुसार, यो प्रक्रिया निकै सहज छ:
१. सबैभन्दा पहिले आफ्नो गुगल एकाउन्ट सेटिङ्समा जानुहोस्।
२. त्यहाँ रहेको ‘Personal info’ (व्यक्तिगत जानकारी) मा क्लिक गर्नुहोस्।
३. त्यसपछि ‘Email’ र ‘Google Account email’ मा ट्याप गर्नुहोस्।
४. त्यहाँ ‘Change Google Account email’ विकल्प देखियो भने त्यसमा क्लिक गरेर आफ्नो नयाँ र युनिक युजरनेम राख्न सक्नुहुनेछ।
यो सुविधा हाल अमेरिकी प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको छ। अन्य देशका प्रयोगकर्ताको खातामा यो अपडेट आउन अझै केही समय लाग्न सक्नेछ।
नयाँ इमेल ठेगाना बनाए पनि पुराना इमेलहरू हराउने चिन्ता लिनुपर्दैन। गुगलका अनुसार तपाईंको पुरानो इमेल ठेगाना पनि ‘वैकल्पिक ठेगाना’ का रूपमा सक्रिय नै रहनेछ र त्यसमा पठाइएका सबै इमेल स्वतः नयाँ ठेगानामा प्राप्त हुनेछन्।
वर्षमा एकपटक मात्र फेर्न मिल्ने
यो सुविधा प्रयोग गर्दा केही सर्तहरू भने पालना गर्नुपर्नेछ। प्रयोगकर्ताले वर्षमा एकपटक मात्र यसरी इमेल ठेगाना परिवर्तन गर्न पाउनेछन्। तर, यदि कसैलाई आफ्नो पुरानै ठेगाना ठीक थियो भन्ने लागेमा पुरानै ‘युजरनेम’ मा फर्किन सक्ने विकल्प पनि गुगलले खुला राखेको छ।
गुगलका एक प्रवक्ताका अनुसार अमेरिकामा गत एक वर्षयता ‘के जिमेल ठेगाना परिवर्तन गर्न मिल्छ ?’ भन्दै गुगल सर्चमा सबैभन्दा धेरै खोजी भएको थियो। प्रयोगकर्ताको यही अत्यधिक मागलाई सम्बोधन गर्दै यो फिचर ल्याइएको कम्पनीको भनाइ छ।
सामाजिक सञ्जाल ‘एक्स’मा धेरै प्रयोगकर्ताले यो फिचरको स्वागत गरेका छन् भने कतिपयले ‘यति सानो कुरा ल्याउन १५ वर्ष किन पर्खिएको’ भन्दै गुगललाई प्रश्नसमेत गरेका छन्। एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘त्यसोभए ‘coolboy123@gmail’ जस्तो इमेलले दिएको मानसिक आघातबाट पहिल्यै बच्न सकिन्थ्यो त ?’
यो सुविधा हाल अमेरिकी प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको छ। अन्य देशका प्रयोगकर्ताको खातामा यो अपडेट आउन अझै केही समय लाग्न सक्नेछ। दिनभर डेस्कटप अगाडि बसेर समाचार सामग्री सम्पादन गर्ने र धेरै इमेल आदानप्रदान गर्नुपर्ने सञ्चारकर्मी तथा प्रविधिप्रेमीहरूका लागि भने यो फिचर निकै उपयोगी साबित हुने देखिन्छ।




प्रतिक्रिया दिनुहोस्