काठमाडौं- हवाई इन्धनको मूल्य झन्डै दोब्वरले बढेको छ । इन्डियन आयलबाट बढेर आएपछि नेपाल आयल निगमले आज बिहानदेखि लागू हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य बढाइएको हो ।
घटा सहेर भएपनि निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । निगमद्वारा जारी बिज्ञप्तिका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर बनाइएको छ ।त्यस्तै पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको निगमले जनाएको छ ।
भारतबाट मंगलबार आएको मुल्यसूचि हालसम्मकै सबै भन्दा बढी हो । पछिल्लोपटक डिजेलमा ९४ रुपैयाँ र पेट्रोलमा ४१ रुपैयाँ मुल्री वृद्धि भएर आएको छ । त्यसैगरी हवाई इन्धनमा १२३ रूपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १९० रूपैयाँ मुल्य बढेर आएको छ ।
अन्तर्राष्ट्रिय रुपमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नेपाल आयल निगमको वर्तमान वित्तीय अवस्था कमजोर हुँदै गएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्य अनुसार निगमले १५ दिनमा १३ अर्ब २१ करोड र मासिक २६ अर्ब ४२ करोड घाटा व्यहोर्नु पर्ने देखिएको छ ।
भारतबाट मुल्य बढेर आएपछि डिजलमा प्रति लिटर १३३ रुपैया, पेट्रोलमा प्रति लिटर ४७ रुपैया र एलपी ग्यासमा प्रति सिलिण्डर ४१६ रुपैयाँ घाटा रहेको छ। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाउँदा समग्र देशको आर्थिक अवस्थामा असन्तुलन आउन सक्ने र महंगी बढ्ने जोखिमलाई मध्यनजर गर्दै, निगमले मुल्य नबढाएको जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्